पोखरा । बैठकमा बोल्दाबोल्दै नेकपा एमालेका केन्द्रीय सदस्य तथा कास्की ईन्चार्ज कृष्ण थापाको मृत्यु भएको छ । बिहीबार जिल्ला कमिटी बैठकमा बोल्ने क्रममा उनी ढलेका थिए ।
जिल्ला सचिव दर्शन लामाका अनुसार बैठक औपचारिक रूपमा सकिएपछि केही नेताहरूबीच थप कुराकानी भइरहेका बेला थापालाई एक्कासि हृदयघात भएको हो।
बैठकमा नेता तथा कार्यकर्ताहरूले हालैको निर्वाचन परिणाम र टिकट वितरणबारे नेतृत्वसँग असन्तुष्टि व्यक्त गरेका थिए। विशेषगरी चुनावी अभियानका क्रममा थापाको भूमिका र गतिविधिबारे समेत प्रश्न उठाइएको थियो।
कार्यकर्ताका जिज्ञासापछि थापाले बैठकलाई सम्बोधन गर्दै आफ्ना धारणा राखेका थिए। त्यही बैठकमा उपस्थित एमाले नेता टिकाराम पङ्गेनीका अनुसार थापाले निर्वाचन परिणामप्रति नैतिक जिम्मेवारी आफूले लिन तयार रहेको बताएका थिए।
पङ्गेनीका अनुसार थापाले भनेका थिए, “पार्टीले मलाई टिकट दिएको थियो र पछि खोसिएको पनि हो। तर निर्वाचनमा पार्टीले अपेक्षाअनुसार नतिजा ल्याउन सकेन। उठेका सबै प्रश्नको जवाफ दिन म तयार छु। अहिलेको परिणामप्रति म जिम्मेवारी लिन तयार छु, आवश्यक परे पार्टीले गरेको कुनै पनि कारबाही भोग्न पनि तयार छु।”
यसपछि उनले आफ्नो मन्तव्य टुंग्याउँदै बैठकमा सहभागी सबैलाई धन्यवाद दिएका थिए र बैठक औपचारिक रूपमा समाप्त भएको थियो।
बैठक सकिएपछि पङ्गेनी मञ्चतर्फ पुगेर थापासँग हात मिलाउँदै कुराकानी गरिरहेका थिए। त्यही क्रममा थापाको घाँटीबाट अस्वाभाविक आवाज आएको उनले बताए।
पङ्गेनीले भने, “हात मिलाउने बेलामा उहाँबाट एक्कासि घुरेजस्तो आवाज आयो। मैले तुरुन्तै अवस्था गम्भीर भएको अनुमान गरें। जुत्ता खोलिदिएँ र गाडी बोलाएर अस्पताल लैजाने व्यवस्था गरियो।”
उनका अनुसार करिब ९ मिनेटमै थापालाई उपचारका लागि मणिपाल अस्पताल पुर्याइएको थियो। तर ज्यान बनाचन सकिएन ।







