काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फको मतगणना सकिएको छ। अन्तिम गणनाअनुसार १ करोड ७ लाख ३९ हजार ११५ मत सदर भएको छ। यही मतका आधारमा प्रतिनिधिसभाका ११० समानुपातिक सिटको बाँडफाँट हुने छ।
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनअनुसार सिट बाँडफाँट गर्दा सुरुमा सबै दलले प्राप्त गरेको मत जोडेर कुल सदर मत निकालिन्छ। त्यसपछि प्रत्येक दलले पाएको मतको प्रतिशत गणना गरिन्छ।
यस पटकको समानुपातिकतर्फको अन्तिम मत परिणाम अनुसार दलहरूले निम्नानुसार मत प्राप्त गरेका छन्—
रास्वपा : ५१,३९,२३५ (४७.८६ प्रतिशत)
नेपाली कांग्रेस : १७,४९,५८३ (१६.२९ प्रतिशत)
एमाले : १४,४८,८५४ (१३.४९ प्रतिशत)
नेकपा : ८,०५,७७३ (७.५० प्रतिशत)
श्रम संस्कृति पार्टी : ३,७८,६४९ (३.५३ प्रतिशत)
राप्रपा : ३,२९,४७२ (३.०७ प्रतिशत)
त्यस्तै जसपा (१.६२ प्रतिशत), जनमत पार्टी (०.७३ प्रतिशत) लगायत अन्य दलले ३ प्रतिशतभन्दा कम मत प्राप्त गरेका छन्।
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनले कुल सदर मतको ३ प्रतिशतभन्दा कम मत ल्याउने दललाई समानुपातिक सिट बाँडफाँटमा समावेश नगर्ने व्यवस्था गरेको छ। त्यसअनुसार ३ प्रतिशतभन्दा बढी मत ल्याउने ६ दल मात्रै सिट बाँडफाँट प्रक्रियामा सहभागी भएका छन्।
यी ६ दलले प्राप्त गरेको मत जोड्दा ९८ लाख ५१ हजार ५६६ हुन्छ। उक्त मतलाई समानुपातिकतर्फको कुल ११० सिटले भाग गर्दा ८९ हजार ५६० मत ‘भाजक’ निर्धारण हुन्छ।
यस आधारमा पहिलो चरणमा दलहरूले प्राप्त गर्ने सिट संख्या यस्तो हुन्छ—
रास्वपा : ५७ सिट
कांग्रेस : १९ सिट
एमाले : १६ सिट
नेकपा : ८ सिट
श्रम संस्कृति पार्टी : ४ सिट
राप्रपा : ३ सिट
पहिलो चरणमा १०७ सिट बाँडफाँट हुन्छ। बाँकी ३ सिट भने दलहरूको बाँकी मत (रिमेन्डर) को आधारमा वितरण गरिन्छ।
बाँकी मतको अवस्था यस्तो छ—
नेकपा : ८९,२९३
राप्रपा : ६०,७९२
कांग्रेस : ४७,९४३
रास्वपा : ३४,३१५
श्रम संस्कृति : २०,४०९
एमाले : १५,८९४
यस आधारमा नेकपा, राप्रपा र कांग्रेसले थप १/१ सिट प्राप्त गर्ने देखिन्छ।
अन्तिम अनुमानित परिणाम अनुसार समानुपातिकतर्फ सिट बाँडफाँट यस्तो हुने देखिएको छ—
रास्वपा : ५७
कांग्रेस : २०
एमाले : १६
नेकपा : ९
श्रम संस्कृति पार्टी : ४
राप्रपा : ४
यसलाई प्रत्यक्षतर्फको सिटसँग जोड्दा संसदमा दलहरूको कुल सिट यस्तो हुने देखिन्छ—
रास्वपा : १८२
कांग्रेस : ३८
एमाले : २५
नेकपा : १७
श्रम संस्कृति : ७
राप्रपा : ५
प्रतिनिधिसभाको कुल २७५ सिटमध्ये दुई तिहाइ बहुमतका लागि १८४ सिट आवश्यक पर्छ। यस अनुसार १८२ सिट पुगेको रास्वपा दुई तिहाइ बहुमतबाट २ सिटले पछाडि देखिएको छ।







