काठमाडौँ । राष्ट्रियसभाका नवनिर्वाचित सदस्यको शपथ सोमबार हुँदै छ।
सिंहदरबारस्थित कानुन, न्याय तथा मानवअधिकार समितिको हलमा आज दिउँसो २ बजे शपथग्रहण कार्यक्रम तय गरिएको संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले बताए ।
गत माघ ११ गते राष्ट्रियसभाका रिक्त हुन लागेका १८ सदस्यका लागि निर्वाचन भएको थियो।
संघीय संसद् सचिवालयका अनुसार राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालको संविधानको धारा ८६ को उपधारा २ बमोजिम शपथ गराउने कार्यक्रम छ।
शपथग्रहणका लागि आफ्नो पहिचान झल्कने पोशाकमा निर्वाचन आयोगबाट प्राप्त राष्ट्रियसभा सदस्य पदको प्रमाणपत्र र नागरिकताको प्रमाणपत्रको प्रतिलिपीसहित उपस्थित हुनुपर्नेछ।
नेपाली भाषा बाहेक आफ्नो मातृभाषामा शपथ लिन चाहने सदस्यले कानुनअनुसार शपथको व्यहोरा आफ्नो मातृभाषाका अनुवाद गरी उपलब्ध गराउनुपर्ने व्यवस्था छ।
गत माघ ११ गते राष्ट्रियसभा सदस्य निर्वाचनमा कोशी प्रदेशबाट रोश्नी मेचे, सोमनाथ पोर्तेल, सुनिलबहादुर थापा निर्वाचित भएका थिए। मधेस प्रदेशबाट रेखाकुमारी झा, धर्मेन्द्र पासवान, रन्जित कर्ण र महन्थ ठाकुर निर्वाचित भएका थिए।
त्यसैगरी बागमती प्रदेशबाट गीता देवकाटा र प्रेमप्रसाद दङ्गाल, गण्डकी प्रदेशबाट जगत तिमिल्सिना र सम्झना देवकोटा, लुम्बिनी प्रदेशबाट रामकुमारी झाँक्री, चन्द्रबहादुर केसी र वासुदेव घिमिरे निर्वाचित भएका थिए।
कर्णाली प्रदेशबाट मीनासिंह रखाल र ललितजङ्ग शाही निर्वाचित भएका थिए। त्यसैगरी सुदूरपश्चिमबाट लीलाकुमारी भण्डारी र खम्मबहादुर खाती निर्वाचित भएका थिए।







