कोशीमा रबि-बालेनलाई हर्क साम्पाङले उछिने, ६ निर्वाचन क्षेत्रमा अग्रता

काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले कोशीका पहाडी क्षेत्रमा उत्साहजनक नतिजा ल्याएको छ ।

प्रारम्भिक गणना अनुसार ६ वटा निर्वाचन क्षेत्रमा यो पार्टीले अग्रता लिएको छ । खोटाङ, उदयपुर–२, भोजपुर, पाँचथर, धनकुटा र इलाम–२ मा यो पार्टीका उम्मेदवारले अग्रता लिएका छन् ।

भोजपुरमा पूर्वमुख्यमन्त्री एवं एमालेका केन्द्रीय सचिव शेरधन राईलाई पछि पार्दै श्रम संस्कृति पार्टीका ध्रुवराज राईले अग्रता लिएका छन् । ध्रुबले ४६७ मत पाएर अग्रता लिदा शेरधनले ४६० मत पाएका छन् । 

तेस्रोमा कांग्रेसका बालकृष्ण थापा छन् । उनले ३७० मत पाउँदा रास्वपाका रमेशप्रसाद ओझाले २७१ र नेपाली कम्युनिष्ट पार्टीका अजम्बर काङमाङले १८७ मत पाएका छन् ।

धनकुटामा एमालेकै राजेन्द्र राईलाई पछि पार्दै श्रम संस्कृतिका सानबहादुर राईले अग्रता कायम राखेका छन् । सानबहादुरले ३ हजार २३७ मत पाउँदा पूर्वमन्त्री राजेन्द्रले २ हजार ३९९ मत पाएका छन् । कांग्रेसका दिनेश राईले १,८२५ मत पाएका छन् भने रास्वपाका दिनेश भण्डारीले ३०६ मत पाएका छन् ।

उदयपुर–२ मा पनि श्रम संस्कृतिका बलराज राईले अग्रता लिएका छन् । बलराजले ५२९ मत सहित अग्रता लिदा नेकपाका सुरेशकुमार राईले ३८०, एमालेका अजम्बरबहाुदर रायमाझीले ३७९, रास्वपाका सुर्यबहादुर तामाङले २७९ र कांग्रेसका रामकुमार राईले २४४ मत पाएका छन् ।

पाँचथरमा श्रम संस्कृतिका हस्तराज शेर्माले ६५६ मत सहित अग्रता लिएका छन् भने कांग्रेसका नरेन्द्र केरुङले ४६२, एमालेका अइन्द्र सुन्दर नेम्वाङले ३६४ मत पाएका छन् । नेकपाका हर्कबहादुर नेम्वाङले २०८ र रास्वपाका महेन्द्र थाम्सुहाङले ९० मत पाएका छन् ।

इलाम–२ मा पनि श्रम संस्कृतिकै उम्मेदवारको अग्रता छ । यो पार्टीका सुदीप राईले १५०४ मत सहित अग्रता लिदा एमालेका सुहाङ नेम्वाङले १३६० मत सहित पछ्याइरहेका छन् । कांग्रेसका भेषराज आचार्यले ७३३ र रास्वपाका गोकुलबहादुर राईले ४२० मत पाएका छन् ।

हर्कको गृह जिल्ला खोटाङमा पनि उनका उम्मेदवार आरेन राईले अग्रता लिएका छन् । आरेनले ४०५ मत सहित अग्रता लिदा कांग्रेसका वीरकाजी राईले ३२६, नेकपाका हरी रोकाले ११९ र एमालेका देवविक्रम राईले १०६ मत पाएका छन् । रास्वपाका रुद्र गिरीले १२२ मत मात्र पाएका छन् ।

यद्यपि प्रारम्भिक मत गणनामा स्वयं अध्यक्ष हर्क भने पछाडि परेका छन् । रास्वपाका गोमा तामाङले १ हजार १५ मत सहित अग्रता लिदा हर्कले ३०३, कांग्रेसका सुजेन्द्र तामाङले २३३, राप्रपाका उद्धव श्रेष्ठले १६२, नेकपाका सुर्य भट्टराईले ९२ र एमालेका टीका लिम्बुले ६१ मत पाएका छन् ।