काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले जतिसक्दो चाँडो सत्ता हस्तान्तरण गर्ने बताएकी छिन् । निर्वाचन सम्पन्न भएलगत्तै बीबीसीसँग कुराकानी गर्दै उनले आफ्नो मुख्य जिम्मेवारीका सम्पन्न भएको भन्दै अब सरकारबाट बाहिरिन आतुर रहेको बताएकी हुन् ।
निर्वाचन सम्पन्न भएसँगै ऐतिहासिक काम पूरा गरेको अनुभूति भएको भन्दै उनले सरकारलाई दिइएको म्यान्डेट पूरा भएको र अबको संक्रमणकाल छोट्याउँदै नयाँ सरकारलाई बाटो प्रशस्त गर्ने बताइन् ।
‘दिएको काम पूरा भएपछि त खुसी हुने भइयो’ उनले भनिन्, ‘अब सत्ताको हस्तान्तरणको प्रक्रिया हेरेर, चाहे त्यो गठबन्धन सरकार होस् वा एकल, हामी एकदम प्रयासमा के रहन्छौँ भन्दाखेरि छिटो भन्दा छिटो नयाँ सरकार गठन गराएर उहाँहरूलाई हस्तान्तरण गरेर हामी बाहिरिन्छौँ ।’
पदमा नबस्दा स्रोतको दुरुपयोग भएन
विगतका निर्वाचन र यसपटकको निर्वाचनमा के फरक छ ? भन्ने प्रश्नमा कार्कीले यसपटकको निर्वाचन निष्पक्षता र मितव्ययिताको कसीमा उत्कृष्ट रहेको दाबी गरिन् । विशेष गरी प्रधानमन्त्री र मन्त्रीमण्डलका सदस्यहरू स्वयं उम्मेदवार नबनेका कारण राज्यको स्रोत र साधनको दुरुपयोग नभएको उनको भनाइ छ।
‘अरू बेलाको निर्वाचनमा मन्त्रीमण्डलले पुरै चुनावतिर ध्यान दिने, आफ्नो कताबाट जित्ने भन्ने ध्याउन्न हुने र रिसोर्सेसको एक्सप्लोइटेसन हुन्थ्यो कि जस्तो लाग्छ,’ कार्कीले भनिन्, ‘तर अब अहिले त्यस्तो भएन। हामी निर्वाचनमा उम्मेदवार नभएपछि कुनै कुराको पनि मिसयुज भएन। यो एकदम मितव्ययी निर्वाचन भएको हो ।’
उनले निर्वाचन आयोगलाई स्वतन्त्र रूपमा काम गर्न दिएको र सरकारले केवल सहयोगी भूमिका निर्वाह गरेको स्पष्ट पारे ।
लगनशीलताका कारण निर्वाचन सार्थक
सरकार गठन भएदेखि नै निर्वाचन हुँदैन भन्ने खालका आशङ्का र आलोचनाहरू बजारमा व्याप्त रहे पनि सरकार आफ्नो लक्ष्यमा अविचलित रहेको उनले बताए । धेरैले बाटो छेक्ने र आलोचना गर्ने प्रयास गरे पनि मन्त्रिमण्डलको एकोहोरो लगनशीलताले यो ऐतिहासिक काम सम्भव भएको उनको तर्क छ।
‘कसले के भन्छ, कसले आलोचना गर्छ वा कसले बाटो छेकेको छ भन्ने तिर हामीले ध्यानै दिएनौँ। निर्वाचन हुँदैन पनि भनियो, तर हामी एकोहोरो आफ्नो काममा लागिरह्यौँ। दलहरूलाई फकाउने, फुल्याउने र वातावरण सुदृढ बनाउने काम गर्यौँ’ उनले भनिन्, ‘निर्वाचनको क्रममा रक्तपात नहोस् भन्ने आफ्नो डे वानको सङ्कल्प पूरा भएको छ ।’
श्वेतपत्र र बाँकी प्रतिवेदन सार्वजनिक गर्ने तयारी
सत्ता हस्तान्तरण गर्नुअघि सरकारले केही महत्त्वपूर्ण प्रतिवेदनहरू सार्वजनिक गर्ने तयारी गरेको छ। विशेष गरी जेनजी सम्झौतासँग सम्बन्धित परिषद् गठन भइसकेको र आयोगका प्रतिवेदनहरू बुझ्ने क्रममा रहेको उनले बताइन्।
सरकार सञ्चालनका क्रममा देखिएका कमी–कमजोरी र अनुभवहरूलाई समेटेर एउटा श्वेतपत्र जस्तो दस्ताबेज तयार पारी नयाँ सरकारलाई बुझाउने योजना रहेको पनि कार्कीले बताइन् । ‘हामीले देखेका कमी कमजोरीहरूको लामो फेहरिस्त छ। त्यसको एउटा मेमोरी चाहिँ उहाँहरूलाई जानकारी गराउने गरी हामी बताउने प्रयास गर्छौँ,’ उनले भनिन् ।
नयाँ सरकारले युवाहरूको आशा र भरोसालाई मर्न दिन नहुनेमा प्रधानमन्त्री कार्कीको जोड छ । ‘नेपालीहरूले रोजगारीको निम्ति बिदेसिन नपरोस्। कलिला युवाहरू नोकरी गर्न जाने र त्यहाँबाट मृत्युवरण भएर बाकसमा फर्किनुपर्ने यस्ता घटना अब नहोस्’ उनले भनिन्, ‘मुलुकको आर्थिक विकास होस् र सुशासन कायम होस् भन्ने चाहना छ ।’







