मतदानको समयमा हेलिकप्टरबाट गस्ती गर्ने केन्द्रीय सुरक्षा समितिको निर्णय

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम तयारीबारे केन्द्रीय सुरक्षा समितिको बैठकमा छलफल भएको छ । 

भोलि देशभर प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ । बुधवार गृहमन्त्रालयमा गृहमन्त्री ओमप्रकाश अर्यालको नेतृत्वमा बसेको बैठकले मतदानको समयमा हेलिकप्टरबाट गस्ती गर्ने निर्णय गरेको छ ।

बैठकमा गृहसचिव राजकुमार श्रेष्ठ, रक्षा मन्त्रालयका सचिव केदारनाथ शर्मा, सुरक्षा निकायका प्रमुखहरू र गृह मन्त्रालयका उच्च अधिकारी सहभागी थिए । बैठकमा निर्वाचनको तयारी र समसामयिक विषयमा छलफल भएको गृह मन्त्रालयकी उपसचिव रमा आचार्यले जानकारी दिइन् ।  

गस्ती र आपतकालीन प्रयोजनको लागि हेलिकप्टर स्ट्याण्डबाई राख्ने निर्णय गरिएको छ । केन्द्रीय सुरक्षा समितिले भोलि हुने निर्वाचनमा सुरक्षा चुनौती नरहेको निष्कर्ष निकालेको छ ।

बैठकमा सुरक्षा प्रमुखहरूले सुरक्षा अवस्थाबारे जानकारी गराएका थिए । यसअघि गृहसचिवले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसँग भर्चुल माध्यमबाट छलफल गरेर सुरक्षा स्थितिको बारेमा जानकारी लिएका छन् ।

निर्वाचनमा कानुन विपरीतका गतिविधि गर्नेहरूलाई नियन्त्रणमा लिएर कारबाही गर्ने निर्णय गरिएको उपसचिव आचार्यले बताइन् ।