निर्वाचनको सम्पूर्ण तयारी पूरा : गृह मन्त्रालय

काठमाडौँ । गृह मन्त्रालयले प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । 

बुधवार गृहसचिव राजकुमार श्रेष्ठको नेतृत्वमा मन्त्रालयमा ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसँग भर्चुअल बैठक बसेको थियो । गृह सचिव श्रेष्ठले प्रजिअहरुसँग निर्वाचन तयारी र सुरक्षा व्यवस्थापनबारे जानकारी लिएका हुन् ।

करिब ३ घण्टा लामो बैठकमा निर्वाचनको तयारी र सुरक्षा व्यवस्थापनको विषयमा केन्द्रित रहेको मन्त्रालयकी सहप्रवक्ता रमा आचार्यले जानकारी दिइन् । 

गृहसचिव श्रेष्ठले निर्वाचन सुरक्षालाई मजबुत र प्रभावकारी बनाउन प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएका छन् । छलफलसँगै मन्त्रालयले फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । 

गृह मन्त्रालयले शान्ति सुरक्षाको अवस्था, निर्वाचनको दिन अपनाउनुपर्ने सतर्कता र सुरक्षा संवेदनशीलताबारे समीक्षा गर्दै निर्वाचनको तयारी पूरा भएको जानकारी दिएको हो ।

बैठकमा सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीले सबै कर्मचारी, सुरक्षा संयन्त्र र निर्वाचन सामग्री मतदान स्थलमा पुगेको जानकारी गराएका छन् ।

निर्वाचन आयोगको विशेष पत्रकार सम्मेलन २ बजे

निर्वाचन आयोगले फागुन २१ गते बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारीबारे जानकारी दिन विशेष पत्रकार सम्मेलन गर्ने भएको छ ।

आयोगका प्रवक्ता नारायण भट्टराईका अनुसार मतदानको लागि सम्पूर्ण तयारी पूरा भएको सन्देश सहित कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले ब्रिफिङ गर्न पत्रकार सम्मेलन राखिएको हो ।

‘बुधबार दिउँसो २ः ०० बजे आयोगको मिडिया सेन्टर हलमा विशेष पत्रकार सम्मेलन राखिएको छ’, भट्टराईले भने, ‘थप जानकारी त्यहीबाट पाउनुहुनेछ ।’