काठमाडौं । मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो परिस्थितिका कारण अलपत्र नेपालीको विवरण संकलन तथा आवश्यक सहयोग एवं उद्धारका लागि सरकारले अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ ।
इजरायल-अमेरिका र इरानबीचको हवाई हमलापछि मध्यपूर्वी देशहरूमा रहेका नेपालीका लागि परराष्ट्र मन्त्रालय कन्सुलर सेवा विभागले अनलाइन पोर्टल सञ्चालनमा ल्याएको हो ।
उनीहरूको अवस्था सम्बन्धी सूचना संकलन तथा आवश्यक परेको खण्डमा उद्धार गर्न अनलाइन पोर्टल सञ्चालनमा ल्याइएको हो ।
युनाइटेड अरब इमिरेट्स (यूएई), ओमान, बहराइन, कतार, साउदी अरब लगायत देशमा रहेका नेपालीका लागि विभागले अनलाइन पोर्टल सञ्चालनमा ल्याएको हो ।
लिंकमार्फत विभागले सम्बन्धित देशमा रहेका नेपालीको विवरण संकलन थालेको हो । त्यसका लागि सम्बन्धित देशमा रहेका नेपाली दूतावासहरूले नेपालीलाई यथाशीघ्र विवरण अद्यावधिक गर्न अनुरोध गरेका छन् ।
यो लिंकमार्फत विभागले सम्बन्धित देशमा रहेका नेपालीको विवरण संकलन थालेको हो । त्यसका लागि सम्बन्धित देशमा रहेका नेपाली दूतावासहरूले नेपालीलाई यथाशीघ्र विवरण अद्यावधिक गर्न अनुरोध गरेका छन् ।
पहिलो चरणमा विभिन्न देशबाट नेपाल फर्कने क्रममा सम्बन्धित देशका विमानस्थलमा अलपत्र परेका व्यक्ति, भिसा समाप्त भइसकेका वा कम्पनीबाट भिसा क्यान्सिल गरी नेपाल फर्कन टिकट काटिसकेपछि असहज परिस्थितिमा परेका नेपालीलाई पोर्टल मार्फत आफ्नो व्यक्तिगत विवरण, सम्पर्क ठेगाना र अवस्था सम्बन्धी जानकारी प्रविष्ट गर्न अनुरोध गरिएको छ ।
त्यसरी अनलाइन पोर्टल मार्फत जानकारी दिएपछि सम्बन्धित निकायले समन्वय गरी आवश्यक सहयोग गर्न सकिने छ ।
मध्यपूर्व क्षेत्रमा जारी तनावका कारण यूएई लगायत खाडी क्षेत्रमा रहेका नेपाली श्रमिक तथा यात्रुमा चिन्ता बढिरहेका बेला सरकारले पोर्टल मार्फत व्यवस्थित रूपमा तथ्यांक संकलन र उद्धार समन्वय पहल थालेको हो ।
सम्बन्धित देशमा रहेका दूतावासले आपतकालीन अवस्थाका नेपालीलाई अफवाहमा नलागी आधिकारिक च्यानल मार्फत मात्र सम्पर्क गर्न अनुरोध गर्दै आएका छन् ।
अनलाइन पोर्टल : https://legal.nepalconsular.gov.np/urgent-rescue







