यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु

काठमाडौँ । इरानको आक्रमणमा परी युएईमा एक जना नेपाली नागरिकको मृत्यु भएको छ।

युएईको रक्षा मन्त्रालयले सामाजिक सञ्जाल एक्समार्फत मिसाइल आक्रमणबाट तीन जनाको मृत्यु भएको पुष्टि गरेको हो। जसमध्ये एक जना नेपाली नागरिक रहेको उल्लेख छ।

अर्का एक जना बंगलादेशी र पाकिस्तानी नागरिक छन्। अरू ५८ जना सामान्य घाइते समेत रहेको मन्त्रालयले उल्लेख गरेको छ।

यूएईका लागि नेपाली राजदूत तेज बहादुर क्षेत्रीले एक नेपालीको मृत्यु भएको जानकारी दिए । यद्यपि मृत्यु हुनेहरूको परिचय भने मन्त्रालयले खुलाएको छैन । मृतकको परिचयबारे थप बुझ्ने काम भइरहेकाे उनले बताए ।

युएईको रक्षा मन्त्रालयका अनुसार इरानले हालसम्म १६५ वटा ब्यालेस्टिक मिसाइल, दुईवटा क्रुज मिसाइल र ५४१ वटा ड्रोन प्रहार गरिसकेको छ ।

यूएईको शक्तिशाली हवाई रक्षा प्रणालीले अधिकांश मिसाइल र ड्रोनहरूलाई आकाशमै नष्ट गरिदिए तापनि ३५ वटा ड्रोनहरू मुलुकका विभिन्न स्थानमा खसेका थिए । तीमध्ये २१ वटा ड्रोनहरूले नागरिक बस्ती र भौतिक संरचनालाई निशाना बनाउँदा मानवीय क्षति भएको हो ।

यस आक्रमणमा परी नेपालसहित भारत, फिलिपिन्स, इजिप्ट, इथियोपिया र पाकिस्तान लगायत १५ विभिन्न देशका ५८ जना नागरिक सामान्य घाइते भएका छन् ।

मन्त्रालयले घाइतेहरूको अवस्था खतरामुक्त रहेको र उनीहरूको उपचार भइरहेको जानकारी दिएको छ ।