इरानका सर्वोच्च नेता खामेनी मारिएको पुष्टि, ४० दिन शोक घोषणा

काठमाडौं । इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ ।

यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी मारिएको बताएका थिए । ट्रम्पले ट्रुथ सोसलमार्फत् खामेनी मारिएको दाबी गरे पनि इरानबाट पुष्टि हुन सकेको थिएन ।

इरानका विदेशमन्त्री अब्बास अराघचीले त एनबीसी समाचार संस्थासँगको कुराकानीका क्रममा आफ्ना नेता सुरक्षित र स्वस्थ रहेको दाबी गरेका थिए ।

तर इरान राज्यको टेलिभिजनका एक प्रस्तोताले भावकु हुँदै सर्वोच्च नेता खामेनीको मृत्यु भएको र ४० दिन शोकको घोषणा भएको जानकारी दिएको बीबीसीले जनाएको छ ।

अलजजिराका अनुसार इरानको फार्स न्युज एजेन्सीले पनि सर्वोच्च नेता खामेनी शनिबार नै मारिएको जनाएको छ । समाचारअनुसार खामेनी आफ्नो कार्यालयमा ‘आफूलाई तोकिएको जिम्मेवारी पूरा गरिरहँदा’ शनिबार बिहान सबेरै मारिएका थिए ।

अमेरिका र इजरायलले शनिबार संयुक्त रुपमा इरानमाथि हमला गरेका थिए । सो हमला खानेनीको निवासमा समेत भएको थियो । सोही क्रममा उनको निधन भएको समाचारहरूमा जनाइएको छ ।

सन् १९८९ देखि इरानको सर्वोच्च शक्ति उनकै हातमा रहेको थियो । उनी इरानको इतिहासमा शाह मोहम्मद रजा पहलवीपछि सबैभन्दा लामो समयसम्म शासन गर्ने नेता र मध्यपूर्वका सबैभन्दा लामो समयसम्म पदमा रहने राष्ट्रप्रमुख हुन्।

खामेनी इरानका आध्यात्मिक र राजनीतिक नेता आयातोल्लाह खुमेनीका नजिकका चेला थिए। सन् १९७९ को इस्लामिक क्रान्तिमा उनले महत्त्वपूर्ण भूमिका खेलेका थिए। क्रान्तिअघि शाहको शासनको विरोध गर्दा उनी ६ पटक पक्राउ परेका थिए भने ३ वर्ष निर्वासनमा बिताएका थिए।

सर्वोच्च नेता बन्नुअघि उनी इरानको तेस्रो राष्ट्रपतिका रूपमा कार्यरत थिए। इरान–इराक युद्धका बेला उनले देशको नेतृत्व गरेका थिए भने सोही समयमा इरानी सैन्य दस्ता ‘इस्लामिक रिभोलुसनरी गार्ड कोर’ सँग उनको सम्बन्ध बलियो भएको थियो। उनलाई एक कट्टरपन्थी र हार्डलाइनर नेताका रुपमा चिनिन्थ्यो ।