काठमाडौँ । निर्वाचन आयोगले निर्वाचनको मौन अवधिमा हुन सक्ने हुन सक्ने चलखेल र अवाञ्छित गतिविधि रोक्न विशेष निगरानीको व्यवस्था गरिएको जनाएको छ।
आयोगका आयुक्त सगुन शम्शेर राणाले मौन अवधि उम्मेदवार र मतदाताका लागि शान्त र सोचविचार गर्ने समय भएकाले यस अवधिमा निर्वाचन आचारसंहिता विपरीत कुनै गतिविधि नगर्न राजनीतिक दल र उम्मेदवारलाई आग्रह गरेका छन्।
आयुक्त राणाले मौन अवधिमा मतदातालाई प्रभावित पार्ने प्रयास हुन सक्ने भन्दै आयोग त्यसप्रति सतर्क रहेको बताए। उनले कानुन विपरीतका गतिविधि रोक्न जिल्ला अनुगमन अधिकृत तथा सुरक्षा निकायलाई परिचालन गरी विशेष निगरानी गरिएको जानकारी दिए।
उनका अनुसार एक हजार मतदाता संख्या भएको स्थानमा एउटा मतदान केन्द्र कायम गरिएको छ भने सोभन्दा बढी मतदाता भए थप केन्द्रको व्यवस्था गरिएको छ। मतदानको दिन वृद्धवृद्धा, अपाङ्गता भएका व्यक्ति, गर्भवती महिला र बिरामी मतदातालाई प्राथमिकता दिइने पनि उनले बताए।
‘उपलब्ध स्रोतसाधनको अधिकतम प्रयोग गरेर मतदातालाई सहज र सुरक्षित वातावरण प्रदान गर्ने प्रयास गरिएको छ,’ आयुक्त राणाले भने।
त्यसैगरी मतगणना प्रक्रिया छिटो सम्पन्न गर्न यसपटक आवश्यक जनशक्ति थप गरिएको जानकारी दिँदै उनले भौगोलिक कठिनाइ भएका केही जिल्लामा मतपेटिका सङ्कलनमा समय लाग्न सक्ने भए पनि व्यवस्थापन सुधार गरेर प्रक्रिया प्रभावकारी बनाइने बताए।







