काठमाडौँ । पोखराबाट काठमाडौँ आउँदै गरेको यात्रुवाहक बस धादिङमा दुर्घटनामा हुँदा १७ जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् ।
आज बिहान करिब १ः३० बजे ग १ ख १४२१ नम्बरको बस धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैँसीगौडास्थित पृथ्वी लोकमार्गबाट त्रिशूली नदीमा खसेको हो ।
हालसम्म सो दुर्घटनामा परी मृत्यु भएका १७ जनाको शव निकालिएको सशस्त्र प्रहरी बलका प्रवक्ता विष्णुप्रसाद भट्टले जानकारी दिए । घाइते २८ जनालाई उद्धार गरेर विभिन्न अस्पताल लगिएको छ।
सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाका अनुसार घाइते २८ जनाको सनाखत भएको छ । मृतकको सनाखत हुन बाँकी छ । घटनास्थलमा तीन वटै सुरक्षा निकायको समन्वयमा उद्धारको काम भइरहेको छ ।






