गौरमा कर्फ्यु कायमै, भारत–नेपाल सीमामा समेत कडाइ

रौतहट । गौर नगरपालिका–६ सवगढामा भएको साम्प्रदायिक झडपपछि उत्पन्न तनावका कारण जिल्ला प्रशासन कार्यालय रौतहटले हिजोदेखि लगाएको कर्फ्यु आदेश आज पनि जारी राखेको छ। प्रशासनले जारी सूचनाअनुसार आज बिहान ६ः३० बजेदेखि ८ः३० बजेसम्म कर्फ्यु केही खुकुलो बनाइए पनि पुनः पूर्ववत कर्फ्यु कायमै रहेको जनाएको छ ।

घटनापछि भारत–नेपाल सीमामा समेत कडाइ गरिएको छ। सीमा क्षेत्रमा बेरियर लगाइ गाडी आवागमन पूर्णरूपमा रोकिएको छ। नेपाली क्षेत्रबाट भारत प्रवेश गर्दा आधार कार्ड र भारतबाट नेपाल प्रवेश गर्दा नेपाली नागरिकता देखाउनुपर्ने प्रावधान लागू गरिएको छ।

सदरमुकाम गौरमा पुनः त्यस्तो घटना दोहोरिन नदिन ठाउँ ठाउँमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको बाक्लो उपस्थिति रहेको छ।

साम्प्रदायिकता फैलाउन भूमिका खेलेको आरोपमा जनमत पार्टीका जिल्ला इन्चार्ज शेख जमसैदसहित २० जनालाई रौतहट प्रशासनले नियन्त्रणमा लिएको जनाएको छ। निर्वाचनको समयमा समाजमा अशान्ति फैलाउने र धार्मिक सद्भावमा खलल पुर्‍याएको आरोपमा जमसैदलाई शनिबार दिउँसो नियन्त्रणमा लिइएको हो। दंगा शान्त भएपछि मात्र उनलाई छाडिने प्रशासनले जनाएको छ।

सिडिओ दिनेश सागर भुसालको आदेशपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले जमसैदलाई नियन्त्रणमा लिएर जिल्ला प्रशासन कार्यालय गौरमा उपस्थित गराएको प्रहरी प्रवक्ता डीएसपी विष्णु प्रदीप बस्यालले जानकारी दिएका छन्।

प्रवक्ता बस्यालका अनुसार जमसैदसँग आवश्यक सोधपुछ भइरहेको छ र घटनामा उनको संलग्नता कति छ भन्नेबारे उपलब्ध प्रमाणका आधारमा सूक्ष्म अनुसन्धान जारी छ। सबगढा गाउँका पूर्व वडाध्यक्षसमेत रहेका जमसैद जनमत पार्टीका जिल्ला अध्यक्ष हुन्।

यसै क्रममा गौर नगरपालिका–६ का वडाध्यक्ष अबधविहारी साहलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। सबगढामा सुरु भएको साम्प्रदायिक तनाव मत्थर पार्नुको साटो झन् भड्काएको आरोपमा वडाध्यक्ष साहलाई नियन्त्रणमा लिइएको हो।

बिहीबार रातिको घटनापछि शुक्रबार बिहानदेखि दिउँसोसम्म भएको उपद्रवपश्चात् शुक्रबार अपराह्न दुवै समुदायबिच प्रशासनको रोहबरमा ६ बुँदे सहमति भएको थियो। तर सहमति विपरीत शनिबार बिहानैदेखि योजनाबद्ध रूपमा दुवै पक्षबिच तनाव सिर्जना गर्ने अडियो क्लिपहरू बाहिरिएपछि अवस्था पुनः उग्र बनेको थियो ।

शनिबार भएको झडपपछि अवस्था थप तनावग्रस्त बनेको थियो। स्थिति नियन्त्रणमा लिन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका करिब ५०० जना सुरक्षाकर्मी परिचालन गरिएको थियो। रौतहट प्रहरी प्रमुख एसपी सिताराम रिजाल र सशस्त्र प्रहरीका एसपी रामहरी अधिकारीको नेतृत्वमा सुरक्षा परिचालन गरिएको थियो।

दुई पक्षबिच ढुंगामुढा हुँदा शनिबार ६ जना घाइते भएको डीएसपी बस्यालले बताए। उनका अनुसार प्रहरीले लाठीचार्ज गर्नुका साथै ५ राउन्ड हवाई फायर र ७९ राउन्ड अश्रुग्यास प्रहार गरेको थियो। झडपका क्रममा एक भारतीय नम्बरको स्कार्पियो, एक ई–रिक्सा र पाँच मोटरसाइकलमा आगजनी गरिएको छ भने एक दर्जन मोटरसाइकलमा क्षति पुगेको छ।

आज आईतवार जिल्ला प्रशासन कार्यालयले केहीबेरमा सर्वपक्षीय बैठक बस्ने तयारी गरिरहेको जनाएको छ।