रौतहट घटनामा संलग्न रहेको आरोपमा जनमत पार्टीका जिल्ला संयोजक पक्राउ

रौतहट । रौतहटको गौरमा भड्किएको हिंसामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

गौर नगरपालिका वडा नं. ६ सवगढाबाट शुरु भएको दुई समुदायबीचको विवादमा संलग्न रहेको आरोपमा प्रहरीले शेख जमशेदलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनी जनमत पार्टीका जिल्ला संयोजक हुन् भने सोही वडाका पूर्व अध्यक्ष पनि हुन् ।

बिहीबार साँझ मस्जिदको बाटो हुँदै जन्तीको गाडी गएपछि भएको विवादले हिंसात्मक रुप लिएको थियो । हिजो शुक्रबार दिनभरको झडपपछि प्रशासनले दुवै पक्षबीच ६ बुँदे सहमति समेत गराएको थियो ।

तर आज बिहानबाटै पुन: सवगढामै दुई पक्षबीच झडप भएको छ । अहिले रौतहटका विभिन्न क्षेत्रमा प्रशासनले कर्फ्यू समेत लगाएको छ ।सवगढा घटनामा शेख जमसेदको संलग्नताका केही प्रमाण समेत फेला पारेको प्रहरी स्रोतको दाबी छ

प्रहरीले जमसेदलाई घरबाटै नियन्त्रणमा लिएर जिल्ला प्रशासन कार्यालयमा लगेको छ । आफूलाई प्रहरीले घरबाटै लिएर आएको शेख जमशेदले पनि बताएका छन् भने प्रशासनले यस विषयमा बोल्न चाहेको छैन ।

हालसम्म झडपका क्रममा १० जना सामान्य घाइते भएको, २० जना व्यक्ति पक्राउ परेको र ७ मोटरसाइकल र १ थान जीप आगजनिका कारण नष्ट भएको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भूसालले बताए ।

झडप नियन्त्रणमा लिन प्रहरी ५० थान भन्दा बढी अश्रुग्यास प्रहार गरेको थियो भने दर्जनौं राउण्ड हवाइ फायर समेत गरेको थियो ।