‘नो भोट’ बारे बोलेको भन्दै जेनजी अभियान्ता सुप्रीया गिरफ्तार, चौतर्फी बिरोध

काठमाडौँ । ‘नो भोट’ बारे बोलेको भन्दै जेन–जी अभियान्ता सुप्रीया नेपालीमाथि प्रहरीले धरपकड गरी गिरफ्तार गरेको छ । बिना कुनै ठोस कारण र बिना पक्राउ पुर्जी उनलाई बिहिबार काठमाडौँबाट गिरफ्तार गरेको भन्दै विभिन्न संघसंस्था तथा अभियन्ताहरुले आपत्ति जनाएका छन्।

आगामी निर्वाचनबारे ‘भोट नदिने’ धारणा सार्वजनिक रूपमा व्यक्त गर्दै आएकी सुप्रीयालाई गिरफ्तार गरेर प्रहरी मानसिक यातना समेत दिएको उनीनिकट आफन्तले बताएका छन् । साथै प्रहरीले फरक राजनीतिक धारणा राख्ने अन्य विद्यार्थीहरूको बासस्थान देखाउन समेत दावाव दिएको उनले बताएको निकटस्थहरुले जानकारी दिए।

‘प्रहरीले कन्चटमा पेस्तोल तानेर चुनाव बहिस्कार गर्नेहरुको कोठा देखाउ भनेर तनाव दिइरहेको रैछ, हामीसंगको भेटघाटका क्रममा उहाँले मानसिक तनाव दिएक कुरा बताउनु भएको छ,’ सुप्रियालाई भेटेर फर्किएका एक जना जेन-जीले भने ।

उनको गिरफ्तारीलाई अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप भन्दै नागरिक समाज, विद्यार्थी संगठन तथा मानवअधिकारकर्मीहरूले विरोध जनाएका छन्। उनीहरूले विचार व्यक्त गरेकै आधारमा गरिएको गिरफ्तारी लोकतान्त्रिक मूल्य–मान्यताको विरुद्ध भएको बताएका छन्।

घटनाबारे प्रहरी पक्षले भने औपचारिक रूपमा विस्तृत धारणा सार्वजनिक गरेको छैन। तर अधिकारकर्मीहरूले निष्पक्ष छानबिन गरी सुप्रीया नेपालीलाई तत्काल रिहा गर्न माग गरेका छन्।