जेनेभा । युद्ध अन्त्यका लागि रुस र युक्रेनबिच स्विट्जरल्याण्डको जेनेभामा भएको दुई दिने वार्ता कुनै ठोस सहमति बिनै सम्पन्न भएको छ । दुवै पक्षले वार्तालाई कठोर तर औपचारिक रूपमा अघि बढेको बताएका छन् ।
वार्ता अमेरिकाको मध्यस्थतामा भएको हो । यसअघि जनवरी र फेब्रुअरीको सुरुमा संयुक्त अरब इमिरेट्स (यूएई)मा पनि अमेरिकाको मध्यस्थता वार्ता भएको थियो ।
वार्तामा मुख्य विवादको विषय भू–भाग रहेको थियो । रुसले पूर्वी दोनेत्स्क क्षेत्रको बाँकी करिब २० प्रतिशत भूभाग युक्रेनले छोड्नुपर्ने अडान राखेको थियो । तर युक्रेनले उक्त माग अस्वीकार गर्दै सम्भावित सम्झौतापछि पुनः आक्रमण हुन नदिन पश्चिमी मुलुकबाट कडा सुरक्षा ग्यारेन्टी चाहिने बताएको थियो ।
रुसी टोलीका प्रमुख वार्ताकार भ्लादिमिर मेडिन्स्कीले दुई दिनको छलफल कठिन तर कार्यगत रहेको प्रतिक्रिया दिए । उनले छिट्टै थप वार्ता हुने सङ्केत गरे पनि मिति खुलाएनन् । युक्रेनी टोलीका प्रमुख रुस्तम उमरोभले दोस्रो दिनको बैठकलाई गहन र सारगर्भित भने ।
उनका अनुसार दुवै पक्ष राष्ट्रपतिसमक्ष पेस गर्न सकिने निर्णयतर्फ काम गरिरहेका छन् । लगभग चार वर्षदेखि युक्रेनमा जारी रुस युद्ध अन्त्यका लागि प्रयास जारी रहे पनि हालसम्म कुनै निर्णायक प्रगति हुन सकेको छैन ।







