फेरि पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना अधिकृतले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई साेमबार घरबाटै पक्राउ गरिएको बताए ।

प्रसाईंलाई अहिले भद्रकाली स्थित जिल्ला प्रहरी परिसरमा ल्याइएको प्रहरी श्रोतले जनाएको छ । यसअघि माघ २३ मा पनि पक्राउ परेका प्रसाईं हाजिर जमानीमा छुटेका थिए । त्यसबेला निर्वाचनबारे उनले बोलेका कुरालाई प्रहरीको साइबर ब्यूरोले अनुसन्धानको ‘आधार’ बनाएर बयान लिएर छाडेको थियो ।

प्रसाईंले फागुन २१ मा हुन लागेको निर्वाचन विथोल्ने अभियान सुरु गर्न लागेको आशंकामा प्रहरीले उनलाई पटक पटक पक्राउ गर्दै आएको छ । माघ ५ मा पनि पोखराबाट पक्राउ परेका प्रसाईंसँग प्रहरीले बयान लिएर छाडेको थियो ।