काठमाडौँ । धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत)ले फागुन ५ गते नेपाल बन्दको घोषणा गरेको छ । पार्टीले सोमबार एक सूचना जारी गर्दै निर्वाचन बहिष्कार र सर्वपक्षीय सरकार गठनको मागसहित नेपाल बन्दको घोषणा गरेको हो ।
पत्रमा भनिएको छ, ‘साम्राज्यवादी डिजाइनअन्तर्गत फागुन २१ गते हुन गइरहेको कथित निर्वाचन खारेज गर्न, वैदेशिक उत्पीडन र हस्तक्षेपका विरुद्ध संघर्ष गर्न, राष्ट्रिय स्वतन्त्रको रक्षा गर्न र स्वाधीन संयुक्त सरकार स्थापनाको बाटोमा अघि बढ्न यही फागुन ५ गते हाम्रो पार्टीले नेपाल बन्दको आयोजना गरेको जानकारी गराउन चाहन्छौँ ।’
पार्टीले नेपाल बन्द गर्नुको अन्य कारणहरु पनि बुँदागत रुपमा प्रस्तुत गरेको छ । जनसंविधान निर्माण गर्न, भ्रष्टाचार र कालोबजारी अन्त्य गर्न, युवाहरुलाई स्वदेशमै रोकेर रोजगारीको सिर्जना गर्न, भूमिहीनहरुलाई जमीनको व्यवस्था गर्न, शिक्षा, स्वास्थ्य र यातायात निशुल्क गर्नलगायतका कारण नेपाल बन्दको घोषणा गरिएको पार्टीले जनाएकाे छ ।
संयुक्त जेनजी आन्दोलनको समर्थन तथा ऐक्यबद्धता
भोलीको नेपाल बन्दलाई संयुक्त जेनजी आन्दोलनलेऔपचारिक रूपमा समर्थन तथा ऐक्यबद्धता जनाएको छ। आन्दोलनको केन्द्रीय सञ्चालन समितिले प्रेस विज्ञप्ति जारी गर्दै यथास्थितिको निर्वाचन कुनै हालतमा स्वीकार्य नहुने भन्दै वर्तमान सरकारको कदमको विरोध गर्दै आन्दोलनप्रति ऐक्यबद्धता जनाएको हो।
संयुक्त जनेजी आन्दोलनका अनुसार जेनजी आन्दोलनपछिको परिस्थितिमा तत्कालीन नेपाली कांग्रेस, नेकपा एमालेलगायत दलहरू मिलेर बनेको झण्डै दुई तिहाइको सरकार अपदस्थ भई संविधानबाहिरबाट नयाँ सरकार गठन गरिएको थियो। पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीको नेतृत्वमा बनेको सरकारले जेनजी आन्दोलनको भावना र मुद्दाअनुसार काम गर्नुपर्ने भए पनि त्यसो गर्न असफल भएको विज्ञप्तिमा उल्लेख छ।
सरकारले चुनावअघि जेनजी आन्दोलनको सत्य–तथ्य सार्वजनिक गर्न गठन गरेको ‘कार्की आयोग’ को प्रतिवेदनसमेत अहिलेसम्म सार्वजनिक नगरेकोमा आन्दोलनले आपत्ति जनाएको छ। आयोगको प्रतिवेदन सार्वजनिक गर्नु वर्तमान सरकारको प्रमुख दायित्व भए पनि त्यसतर्फ ध्यान नदिई जनेजी पुस्ताले नचाहेको निर्वाचनको तयारी गरेर देशलाई जबर्जस्ती चुनावतर्फ धकेलिएको आरोप लगाइएको छ।
संयुक्त जेनजी आन्दोलनले यस्तो अवस्था कुनै पनि हालतमा स्वीकार्य नहुने स्पष्ट गर्दै पहिलो निकासपछि मात्रै निर्वाचन हुनुपर्ने आफ्नो अडान दोहोर्याएको छ। वर्तमान परिस्थितिमा हुन गइरहेको निर्वाचनको विरोधमा भोलि देशभर आयोजना गरिने विरोध प्रदर्शन तथा आन्दोलनप्रति संयुक्त जेनजी आन्दोलनको तर्फबाट रचनात्मक समर्थन र ऐक्यबद्धता रहने जानकारी प्रवक्ता विरजंग विश्वकर्माले दिएका छन्।







