वीर अस्पतालले कटौती गर्यो स्वास्थ्य बीमाबाट पाइने सेवा

काठमाडौं । वीर अस्पतालले स्वास्थ्य बीमाबाट उपलब्ध हुने सेवा कटौती गरेको छ । अस्पतालले दीर्घरोगका बिरामीलाई बीमा मार्फत तीन महिनासम्म औषधि हुने गरेको थियो । उक्त सेवालाई कटौती गर्दै एकपटकमा उक्त औषधिहरू एक महिनासम्म लागि मात्रै दिइने निर्णय गरेको हो ।

१ फागुन देखि उक्त लागू हुने जनाएको छ । सूचनामा भनिएको छ, ‘१ फागुनदेखि अर्को व्यवस्था नभएसम्म एक महिनाका लागि मात्रै बिमित सदस्यलाई औषधि उपलब्ध गराइने छ ।’

अस्पतालका निर्देशक डा. दिलीप शर्माका अनुसार बीमा बोर्डले लामो समयदेखि भुक्तानी नदिएका कारण सेवा कैटाती गर्नुपरेको हो । बीमा मार्फत ४० करोडभन्दा बढी रकम लिन बाँकी रहेको उनले जानकारी दिए ।

अस्पतालले सबैभन्दा ठूलो चुनौती औषधि खरिदमा भोगिरहेको डा. शर्माले बताए । ‘सरकारले पैसा नदिँदा औषधि किन्न सकिएको छैन, उपकरण बनाउन सकिएको छैन’ उनी भन्छन्, ‘सेवालाई धान्न नै मुस्किल भइरहेको छ ।’

स्वास्थ्य बीमा कार्यक्रम अहिले चरम आर्थिक संकटमा परेको छ । लामो समयदेखि बिमितको उपचार गरेवापतको रकम भुक्तानी नपाएपछि ठूला अस्पतालहरूले स्वास्थ्य बीमा कार्यक्रम समयसीमा तोकेर बन्द गर्न थालेका छन् ।

बोर्डका अनुसार सूचीकृत स्वास्थ्य संस्थालाई असार मसान्तसम्मको ११ अर्बभन्दा बढी भुक्तानी दिन बाँकी छ । यसबाट बिमित नागरिक त सेवाबाट वञ्चित हुने छन् नै, स्वास्थ्य बीमा कार्यक्रम नै अलपत्र पर्ने जोखिम बढेको छ ।