काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले नेपालकी सोना श्रेष्ठलाई दक्षिण एसिया विभाग महानिर्देशक नियुक्त गरेको छ ।
श्रेष्ठलाई बंगलादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल र श्रीलंकामा एडीबीको रणनीति तथा सञ्चालन विकास र कार्यान्वयन नेतृत्व गर्ने गरी नियुक्त गरिएको हो ।
श्रेष्ठ यसअघि दक्षिण एसिया विभागकै उपमहानिर्देशक थिइन् । एडीबीमा हालसम्म उच्च नेतृत्वमा पुग्ने थोरै नेपाली कर्मचारीमध्ये उनी एक हुन् । उनले उपमहानिर्देशक पद ३ अप्रिल २०२५ देखि सम्हालेकी थिइन् ।
यसअघि उनले एडीबीको स्वतन्त्र मूल्यांकन विभाग उपमहानिर्देशक तथा एडीबी सहायक सचिव लगायत वरिष्ठ पदमा काम गरेकी थिइन् ।
त्यसअघि दक्षिण–पूर्व एसियाली क्षेत्रीय विभागमा सार्वजनिक व्यवस्थापन, वित्तीय क्षेत्र र व्यापार सम्बन्धी निर्देशक, इन्डोनेसियाका लागि उपदेशीय निर्देशक तथा फिलिपिन्सका लागि प्रिन्सिपल कन्ट्री इकोनोमिस्टका रूपमा पनि काम गरिसकेकी छिन् ।
‘दक्षिण एसिया विभागको महानिर्देशक नियुक्त हुन पाउँदा सम्मानित महसुस गरेकी छु,’ श्रेष्ठले भनिन्, ‘समावेशी र दिगो विकासमा सहयोग पुर्याउन एडीबीको संलग्नता अझ गहिरो बनाउन यस क्षेत्रका विकासशील सदस्य राष्ट्रहरूसँग मिलेर काम गर्न उत्सुक छु ।’
श्रेष्ठको अन्तर्राष्ट्रिय विकास, नीतिगत विश्लेषण, परियोजना सञ्चालन र मूल्यांकन क्षेत्रमा २७ वर्षको कार्य अनुभव छ । अर्थशास्त्र विषयमा अमेरिकाको युनिभर्सिटी अफ क्यालिफोर्नियाबाट पीएचडी गरेकी श्रेष्ठले अमेरिकाकै स्मिथ कलेजबाट अर्थशास्त्रमा बीए गरेकी छिन् ।
श्रेष्ठले अन्तर्राष्ट्रिय विकास क्षेत्रमा बिताएका २७ वर्षमध्ये एडीबीमै २३ बर्ष बिताएकी छिन् । एडीबीमा उनले मध्य र पश्चिम एसिया, दक्षिण एसिया र दक्षिणपूर्वी एसियामा कार्य सञ्चालन सम्बन्धी अनुभव हासिल गरेकी छिन् ।
एडीबी एसिया र प्रशान्त क्षेत्रमा समावेशी, उत्थानशील र दिगो वृद्धिलाई समर्थन गर्ने एक प्रमुख बहुपक्षीय विकास बैंक हो । सदस्य राष्ट्रहरू र साझेदारहरूसँग मिलेर जटिल चुनौती समाधान गर्दै, एडीबीले जीवनस्तर उकास्न, गुणस्तरीय पूर्वाधार निर्माण गर्न र हाम्रो ग्रहको रक्षा गर्न नवीन वित्तीय उपकरण र रणनीतिक साझेदारी उपयोग गर्दछ ।
सन् १९६६ मा स्थापित एडीबीमा ६९ सदस्य राष्ट्रहरूको स्वामित्व छ, जसमध्ये ५० राष्ट्र एसियाका हुन् ।







