काठमाडौँ । क्यानडाको ब्रिटिस कोलम्बिया राज्यको टम्बलर रिजस्थित एउटा विद्यालयमा अन्धाधुन्ध गोली चलाउने व्यक्ति सोही विद्यालयको पूर्वविद्यार्थी भएको खुलेको छ।
स्थानीय समयअनुसार मंगलबार अपराह्न भएको गोलीकाण्डमा आक्रमणकारीसहित ९ जनाको मृत्यु भएको थियो। बुधबार त्यहाँको प्रहरीले घटनामा संलग्न रहेको किशोरीको पहिचान सार्वजनिक गरेको हो।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार आक्रमणकारी १८ वर्षीया जेसी भान रूटसेलार हुन्। उनी मानसिक स्वास्थ्यसम्बन्धी समस्याको पीडित रहेको भनेर पनि प्रहरीले सार्वजनिक गरेको छ।
उनी सोही विद्यालयकी ‘ड्रप आउट’ विद्यार्थी हुन्। चार वर्षअघि मात्रै स्कुल छाडेकी उनी मंगलबार दुइटा हतियार बोकेर स्कुल प्रवेश गरेकी थिइन्। स्कुल पुग्नुअघि उनले घरमा आफ्नै ३९ वर्षीया सौतेनी आमा र ११ वर्षीय सौतेनी भाइको हत्या गरेका थिए।
विद्यालयमा उनले ३९ वर्षीया एक महिला शिक्षक, तीन जना १२ वर्षीया छात्रा तथा १२ र १३ वर्षका दुई छात्रमाथि गोली प्रहार गरेकी थिइन्। घटनामा दर्जनौं घाइते भएका छन् भने १२ र १९ वर्ष उमेरका दुई जना गम्भीर घाइते अस्पतालमा उपचाररत छन्।
ब्रिटिस कोलम्बियास्थित रोयल क्यानाडियन माउन्टेड पुलिसका डेपुटी कमिसनर ड्वेन म्याकडोनाल्डका अनुसार घटनास्थलमा पुगेका प्रहरीमाथि समेत गोली प्रहार भएको थियो।
प्रहरी घटनास्थलमा प्रारम्भिक कल आएको दुई मिनेटमै पुगेका थिए। अभियुक्त मृत अवस्थामा फेला परेकी थिइन्। प्रहरीले घटनास्थलबाट एक लामो बन्दुक र परिमार्जित ह्यान्डगन बरामद गरेको जनाएको छ।
रूटसेलारलाई यसअघि प्रान्तीय मानसिक स्वास्थ्य ऐनअन्तर्गत मूल्यांकनका लागि नियन्त्रणमा लिइएको थियो। परिवारको घरबाट दुई वर्षअघि हतियार जफत गरिएको भए पनि अपिलपछि फिर्ता गरिएको खुलाइएको छ। उनको हतियार अनुमतिपत्र २०२४ मा सकिएको थियो।
घटनाको उद्देश्यबारे प्रहरीले हालसम्म केही खुलाएको छैन। प्रधानमन्त्री मार्क कार्नीले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै सात दिनसम्म सरकारी भवनहरूमा झण्डा आधा झुकाउन निर्देशन दिएका छन्।
उनले युरोप भ्रमण स्थगित गरेका छन्। संसदमा पनि मौनधारण गरिएको थियो। करीब २,४०० जनसंख्या रहेको टम्बलर रिज खानी मजदुर, शिक्षक र निर्माण व्यवसायमा संलग्न परिवारहरूको बस्ती हो।
‘सबैले सबैलाई चिन्छन्, यहाँ घर–गाडीमा ताल्चा लगाउने चलन नै छैन,’ स्थानीय बासिन्दा जोर्डन कोसिकले बताए। यो आक्रमण क्यानडाको इतिहासकै सबैभन्दा घातकमध्ये एक मानिएको छ।
सन् २०२० मा नोभा स्कोटियामा एक व्यक्तिले २२ जनाको हत्या गरेका थिए भने सन् १९८९ मा मोन्ट्रियलस्थित इकोल पोलिटेक्निकमा १४ महिला विद्यार्थीको हत्या भएको थियो।
स्थानीय प्रान्तीय सांसद ल्यारी न्युफेल्डले समुदायले अकल्पनीय पीडा भोगेको बताउँदै यसलाई सामान्य अवस्थामा फर्काउन ठूलो साहस र प्रयास आवश्यक पर्ने बताए।







