विश्वका चर्चित क्रिकेट खेलाडीदेखि भारत र आइपिएल टिमहरूले गरे नेपाली खेलाडीको प्रशंसा

काठमाडौँ । टी-२० विश्वकपमा इंग्यान्डसँग ५ रनले पराजित भए पनि नेपालले विश्वभरिबाटै प्रशंसा पाइरहेको छ।

आइतबार मुम्बईको वांखडे स्टेडियममा नेपालले उत्कृष्ट प्रदर्शन गरेपछि अहिले विश्वभरका चर्चित क्रिकेट खेलाडीदेखि टिमहरू समेतले प्रशंसा गरेका हुन्।

दक्षिण अफ्रिकाका सर्वकालीन महान् तीव्र गतिका बलरले त नेपाललाई सहयोग गर्न आफू कुनै पनि बेला तयार रहेको भन्दै ट्विट गरेका छन्। उनले लेखेका छन्, ‘नेपाल, कुनै पनि बेला आवश्यक परेमा म सहयोग गर्न तयार छु। अप, अप एन्ड अप’

भारतीय क्रिकेटका पूर्वअलराउन्डर युवराज सिंहले पनि सामाजिक सञ्जाल ‘एक्स’ मा नेपालको प्रशंसा गर्दै ट्विट गरेका छन्।

‘नेपाललाई ठूलो सम्मान छ। विश्वकै एक उत्कृष्ट टिमसँग खेल्यो, अन्तिम बलसम्म लडिरह्यो, र विश्वास र मायाले के गर्न सक्छ भन्ने देखायो। यसरी नै हो टिम हुर्किने र यसरी नै हो च्याम्पियनको उदय हुने। विश्व क्रिकेट आज हेरिरहेको छ,’ युवराजले लेखेका छन्।

भारतीय क्रिकेट खेलाडी रविचन्द्रम अस्विन, कमेन्टेटर तथा पूर्व खेलाडी आकाश चोपडा, भारतीय पूर्वखेलाडी तथा कमेन्टेटर इरफान खान लगायतले पनि नेपालको प्रशंसा गरेका छन्।

यति मात्र होइन, इन्डियन प्रिमियर लिग (आइपिएल) का टोलीहरूले पनि नेपाली खेलाडीहरूले आज देखाएको प्रदर्शनको प्रशंसा गरेका छन्। नेपाली खेलाडीका लागि इन्डियन प्रिमियर लिग (आइपिएल) मा खेल्नु पनि ड्रिम जस्तै बन्ने गरेको छ। आइपिएल हेर्ने नेपालको छुट्टै फ्यान बेस पनि छ।

मुम्बई इन्डियन्स, चेन्नाई सुपर किंग्स, राजस्थान रोयल्स, पन्जाब किंग्स, गुजरात टाइटान्स, रोयल च्यालेन्जर्स बैंगलुरू, कोलकोता नाइट राइडर्स, लखनाऊ सुपर जायन्ट्स लगायतले सामाजिक सञ्जालमार्फत नेपालको प्रशंसा गरेका छन्।

इंग्ल्यान्डले दिएको १८५ रनको लक्ष्य नेपालले २० ओभरमा ६ विकेटको क्षतिमा १८० रन मात्र जोड्न सक्यो। अन्तिम ओभरमा १० रन चाहिदा ५ रन मात्र जोडेको थियो। बाउन्ड्री प्रहार गर्न नसक्दा नेपालले पराजय भोगेको हो।