काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन् । शुक्रबार प्रहरीले उनलाई चाल्नाखेलबाट पक्राउ गरेको थियो ।
जिल्ला सरकारी वकिल कार्यालयकाे निर्णय अनुसार उनलाई आइतबार साँझ ‘हाजिर जमानी’मा रिहा गरिएको साइबर ब्यूरोका एसपी दिपकराज अवस्थीले बताए ।
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक प्रसाईंले दुई दिन हिरासतमा बसेर छुटेका हुन् ।
निर्वाचनबारे उनले बोलेका कुरालाई प्रहरीको साइबर ब्यूरोले अनुसन्धानको ‘आधार’ बनाएको थियो । प्रसाईंले विद्युत्तिय माध्यमबाट निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोप छ ।
पक्राउ पर्नुअघि प्रसाईंले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग भेटेको खुलेको छ । उच्च सुरक्षा अधिकृतका अनुसार माघ २२ मा प्रसाईं र ओलीको बिचमा भक्तपुरमा भेटवार्ता भएको थियो । ओलीसँग भेटेपछि बीरगञ्जमा कार्यक्रम गर्न भनेर प्रसाई पर्सा जाँदै थिए ।
वीरगञ्जमा कार्यक्रम गरेर प्रसाईंले फागुन २१ मा हुन लागेको निर्वाचन विथोल्ने अभियान शुरु गर्न लागेको सुराकको आधारमा सुरक्षा निकायले अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीलाई ब्रिफिङ गरेका थिए । नेपाल प्रहरीका एकजना उच्च अधिकृत भन्छन्, ‘त्यसपछि प्रसाईंलाई पक्राउ गर्ने निर्णय भएको हो ।’
एमाले अध्यक्ष ओली झापा–५ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार छन् । उनीसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बरिष्ठ नेता तथा काठमाडौं महानगरका पूर्व मेयर बालेन्द्र शाह (बालेन) प्रतिस्पर्धामा छन् ।







