नमाजको समयमा इस्लामावादको मस्जिदमा आत्मघाती विस्फोट, ३१ जनाको मृत्यु, १६९ घाइते

एजेन्सी । पाकिस्तानको राजधानी इस्लामाबादस्थित एक शिया मुस्लिम मस्जिदमा आत्मघाती वम विस्फोटमा हुँदा ३१ जनाको मृत्यु भएको छ भने १६९ जना घाइते भएका छन्।

शुक्रबार इस्लामावादको तरलाईस्थित इमामबारगाह खदिजतुल कुबरामा रहेको मस्जिदमा नमाजको समयमा आत्मघाती विस्फोट भएको हो।घटनामा तीन जनाको संलग्नता रहेको बिबिसीले जनाएको छ। विस्फोटमा सुरक्षाकर्मीहरू पनि घाइते भएका छन्।

यो सन् २०२३ जनवरीपछि देशमै भएको सबैभन्दा घातक आक्रमण हो। त्यसबेला उत्तर–पश्चिमी शहर पेशावरको एक मस्जिदमा भएको विस्फोटमा एक सयभन्दा बढी मानिस मारिएका थिए। शुक्रबार विस्फोट हुँदा मस्जिदमा ४०० जनाभन्दा बढी मानसहरू रहेको अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनले जनाएको छ।

‘हामीले नमाज सुरु गरेका थियौं, त्यत्तिकैमा गोली चलेको आवाज आयो, त्यसपछि ठूलो विस्फोट भयो,’ ४७ वर्षीय नमाजी सैयद अमीर हुसेन शाहले सीएनएनसँग भने, ‘म पनि घाइते भएँ।’

घटनापछि सार्वजनिक भएका तस्बिरहरूमा मस्जिदको भुइँमा रगतले लतपतिएका शवहरू, सिसाका टुक्रा र भग्नावशेष देखिएका छन्।

इस्लामाबादस्थित पीआईएमएस अस्पतालमा घाइते काकालाई भेट्न पुगेका २४ वर्षीय शोएबले सिएनएनसँग भनेका छन्-यो मेरो जीवनकै सबैभन्दा डरलाग्दो दृश्य थियो, जसको मैले कल्पना पनि गरेको थिइनँ। नमाजकै बीचमा गोलीको आवाज आयो, केही सेकेन्डपछि कान ठप्प पार्ने विस्फोट भयो। सबैजना बाहिर भागे, केहीले घाइतेलाई अस्पताल पठाउन थाले। मेरो काकाको खुट्टामा चोट लागेको छ।’

इस्लामाबादस्थित अमेरिकी दूतावासले आक्रमणको निन्दा गरेको छ। ‘नागरिक र धार्मिक स्थानमा हुने आतंक र हिंसा अस्वीकार्य छन्। पाकिस्तानका जनताले भयविहीन रूपमा आफ्नो आस्था अभ्यास गर्ने अधिकार पाउनुपर्छ,’ दूतावासले भनेको छ।

पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारीले निर्दोष नागरिकलाई लक्षित गर्नु मानवताविरुद्धको अपराध भएको बताएका छन्। अफगानिस्तानको विदेश मन्त्रालयले पनि मस्जिद र धार्मिक आस्थामाथि भएको आक्रमण इस्लामी र मानवीय मूल्यविरुद्ध भएको प्रतिक्रिया दिएको छ।

पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले गृहमन्त्री मोहसिन नकवीलाई घटनाको निष्पक्ष र द्रुत गतिमा छानबिन गर्न निर्देशन दिएका छन्। घटनामा संलग्नलाई कडा कारबाही गर्ने प्रतिबद्धता पनि जनाएका छन्।

गत नोभेम्बरमा इस्लामाबादमै भएको बम विस्फोटमा १२ जनाको मृत्यु भएको थियो, जुन झण्डै दुई दशकयताकै सबैभन्दा ठूलो आत्मघाती आक्रमण मानिएको थियो।