बैतडी जन्तीबस दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या ८ पुग्यो, ४ जनाको सनाखत

बैतडी । बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा परेर मृत्यु हुनेको संख्या ८ पुगेको छ । पुर्चाैडी नगरपालिका –७ को भौनीबाट जन्ती लिएर फर्किने क्रममा सोही वडाको बढ्गाउँ मोडमा बस दुर्घटनामा परेको हो ।

सुप प्र ०२ ००१ ख १११९ नम्बरको बस दुर्घटनामा परेर ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी दिपक कुमार रायले जानकारी दिए ।

६ जनाको घटनास्थलमै र अन्य दुई जनाको स्थानीय स्वास्थ्य चौकीमा उपचारका क्रममा मृत्यु भएको डीएसपी रायले बताए । मृतक ८ मध्ये चार जनाको पहिचान खुलेको उनले बताए।

बझाङको बित्तडचिर गाउँपालिका – ७ का ४० वर्षीय केशवराज जोशी, सोही ठाउँका १३ वर्षीय अशोकराज जोशी, ३५ वर्षीय वसन्त जोशी र केदारस्यूँ गाउँपालिकका ६० वर्षीय मोहनदेव भट्टको सनाखत भएको डिएसपी रायले बताए।

‘मृतक अरू दुई जना पुरूषको भने सनाखत भइसकेको छैन,’ उनले भने। ४५ जना घाइतेको उद्धार गरी उपचारका लागि पुर्चौडी पाटेल स्वास्थ्य चौकीमा पुर्‍याइएको डिएसपी रायले बताए।

बैतडीको पुर्चौडी नगरपालिका–७ भौनीबाट बेहुली लिएर घरतर्फ फर्किने क्रममा सोही वडाको बढ्गाउँ मोडबाट बस झन्डै एक सय मिटर तल खसेको हो।

बिहीबार बेलुका साढे ७ बजेतिर भएको दुर्घटनाको खबर पाउनासाथ पुर्चौडीका साथै ढोल्यामोडबाट प्रहरी टोली घटनास्थल पुगेर उद्धार थालेको थियो। दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ।