अमेरिका–भारत व्यापार सम्झौता, भारतीय वस्तुमा अमेरिकी भन्सार दर घट्ने

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतसँग नयाँ व्यापार सम्झौता भएको घोषणा गरेका छन् । यस सम्झौताअनुसार अमेरिकाले भारतबाट आयात हुने वस्तुमा लगाउँदै आएको भन्सार दर २५ प्रतिशतबाट घटाएर १८ प्रतिशतमा झार्नेछ ।

ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत यो जानकारी दिएका हुन् । उनका अनुसार भारतले आफ्ना व्यापारिक अवरोधहरू शून्यमा झार्न सहमति जनाएको छ । साथै रुसबाट तेल खरिद रोक्ने निर्णय पनि भारतले गरेको ट्रम्पको भनाइ छ ।

रुसबाट तेल किनेको भन्दै भारतमाथि लगाइएको थप २५ प्रतिशत ‘पेनाल्टी ट्यारिफ’ पनि अब हटाइने उनले उल्लेख गरेका छन् । यो घोषणा भारत र युरोपेली संघबीच झण्डै दुई दशक लामो छलफलपछि ऐतिहासिक व्यापार सम्झौता भएको एक साताभित्र आएको हो ।

ट्रम्पले भारतसँगको सम्झौता घोषणा गरेपछि अमेरिकी सेयर बजारमा सामान्य वृद्धि देखिएको छ ।

मोदीले भने– ट्रम्पलाई धन्यवाद

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एक्समार्फत अमेरिकासँग सम्झौता भएकोमा खुशी व्यक्त गरेका छन् । ‘भारतका १ अर्ब ४० करोड जनताका तर्फबाट राष्ट्रपति ट्रम्पलाई धन्यवाद,’ मोदीले एक्समा लेखेका छन्, ‘दुई ठूला अर्थतन्त्र र विश्वका ठूला लोकतन्त्रहरू मिलेर काम गर्दा दुवै देशका जनताले फाइदा पाउँछन् ।’

ट्रम्पका अनुसार मोदीसँग भएको फोनवार्तामा व्यापारका साथै रुस–युक्रेन युद्धबारे पनि छलफल भएको थियो । ‘मोदीले रुसबाट तेल खरिद रोक्ने र अमेरिकाबाट धेरै तेल किन्न सहमति जनाएका छन्, सम्भवत: भेनेजुएलाबाट पनि,’ ट्रम्पले लेखेका छन् ।

५०० अर्ब अमेरिकी डलरभन्दा बढीका अमेरिकी सामान खरिद गर्ने भारतको प्रतिबद्धता 

उनले मोदीको अनुरोधमा तत्कालै व्यापार सम्झौतामा सहमति भएको र यसले अमेरिकी कर घट्ने तथा भारतका कर र गैर–कर अवरोध शून्यमा झर्ने बताएका छन् ।

ट्रम्पका अनुसार भारतले ऊर्जा, प्रविधि, कृषि र कोइला लगायतका क्षेत्रमा ५०० अर्ब अमेरिकी डलरभन्दा बढीका अमेरिकी सामान खरिद गर्ने प्रतिबद्धता समेत जनाएको छ ।

यसअघि अमेरिकाले अगस्टमा भारतमाथि ५० प्रतिशतसम्म भन्सार कर लगाएको थियो, जुन एसियाली मुलुकहरूमध्ये सबैभन्दा उच्च थियो । त्यसमा रुसबाट तेल खरिदसँग जोडिएको २५ प्रतिशत अतिरिक्त कर पनि समावेश थियो । ह्वाइट हाउसका एक अधिकारीले सम्झौताअन्तर्गत रुससँग सम्बन्धित कर हटाइने र अन्य कर घटाएर १८ प्रतिशतमा सीमित गरिने पुष्टि गरेको बीबीसीले जनाएको छ ।

अमेरिकी कर लागू भएपछि भारतबाट अमेरिकातर्फ हुने निर्यात तीव्र रूपमा घटेको थियो । यही कारण भारतले अन्य मुलुकसँग पनि व्यापारिक साझेदारी खोजिरहेको थियो ।

गत साता भारत र युरोपेली युनियन (ईयू)बीच भएको स्वतन्त्र व्यापार सम्झौताले दुवैतर्फका प्राय: सबै वस्तुमा कर घटाउने लक्ष्य राखेको छ ।

युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डर लेयेनले यसलाई ‘सबैभन्दा ठूलो सम्झौता’ भनेकी छन् । ईयूका अनुसार यस सम्झौताले सन् २०३२ सम्म भारततर्फको युरोपेली निर्यात दोब्बर बनाउने अपेक्षा गरिएको छ ।

भारत र ईयूबीच भएको व्यापारिक सम्झौतालाई भारतले ‘मदर अफ अल डील्स’ (सम्झौताहरूको जननी) भनिरहँदा अमेरिकाले भने त्यसको आलोचना गरेको थियो । सीबीएनसँग कुरा गर्दै अमेरिकी वित्त मन्त्री स्कट बेसेन्टले भनेका थिए, ‘भारतले आफ्नो लागि जे ठीक हुन्छ, त्यही गर्नुपर्छ। तर युरोपको रवैयादेखि म एकदमै निराश छु।’