जन्मदिन मनाउने संस्कार

विष्णु चन्द्र गौतम, भक्तपुर । यस धर्तीमा जन्म लिने जति पनि प्राणी, जीव, जीवाणु वा किटाणु छन् ति मध्ये सबै भन्दा उत्तम जन्म मानव जूनीलाई मानिन्छ । धार्मिक, प्राकृतिक र सांस्कृतिक दृष्टिकोणबाट मानव जन्म अत्यन्त महत्वपूर्ण र विशेष छ भन्ने कुरा प्रमाणित भइसकेको छ ।

हिन्दु धर्मशास्त्रहरु गीता र मनुस्मृति अनि बौद्ध धर्मशास्त्र त्रिपिटक त्यस्तै किराँत धर्मशास्त्र मुन्धुम जस्ता ग्रन्थहरुले यो सत्यतथ्य भएको बताइसकेका छन् । ज्ञान, मोक्ष र सिद्धि प्राप्त गर्ने कुरा मानव जन्ममा मात्र सम्भव छ, अन्य जन्ममा छैन ।

जन्मदिन सबैको विशेष हुन्छ यो केवल कुनै संस्थाको वार्षिक कार्यक्रम वा वार्षिक उत्सव जस्तो होइन । यो त जीवनको अर्थ, समयको मूल्य र कर्तव्य सम्झिने विशेष दिन हो ।

आफ्नो जन्मलाई कसरी सार्थक र गौरवशाली बनाउने भनेर चिन्तन मनन गर्ने अवसर हो । धर्तीमा कुनै पनि प्राणी भएर जन्मनु भाग्य हो तर मानव भएर जन्मनु सौभाग्य हो । त्यसैले आपूm जन्म भएको दिनलाई सकरात्मक रुपमा सम्झिएर अगाडि बढ्नु अत्युत्तम हुन्छ ।

जन्मलाई धिक्कार मान्ने वा आफूलाई धर्तीको बोझ सम्झनेहरुले मानव सभ्यतालाई समृद्धशाली बनाउँदैनन् । यस्तो सोचाई वा चिन्तनले मानव समाज नर्क बन्न पुग्दछ ।

संस्कृति र सभ्यताका धनी हामी पहिचानका कुरा त गर्छाै तर जन्मदिन बनाउने हाम्रो आफ्नै मौलिक परम्परा भने भुल्दै गएका छौँ । प्रकृतिसँग नजिकको सम्बन्ध राख्ने हाम्रा चाल–चलनहरु हरु बिर्सिएर हामी न यताका न उताका र अन्त्यमा कतै न कतैका बन्दै छौँ । किराँत धर्मको पवित्र ग्रन्थ मुन्धुममा जन्मदिनको अवसरमा पुर्खापुजा र कुलदेवताको स्मरण गर्ने कुरालाई जोड दिइएको छ । यसमा जन्मसंस्कार र जीवनचक्रलाई महत्वपूर्ण स्थान दिइएको छ ।

त्यस्तै गरी हिन्दु धर्म ग्रन्थ भागवत, स्कन्दपुराण, विष्णुपुराण आदिमा ग्रह शान्ती, कुल देवताको पुजा, आयु वृद्धि र आरोग्यका लागि पुजा गर्ने कुरामा जोड दिइएको छ । अष्ट चिरन्जीवीहरु अश्वत्थामा बलि हनुमान, विभिषण कृपाचार्य, वेदव्यास परशुराम र मार्कन्डेय ऋषिको पुजा गर्ने कुरालाई विशेष महत्व दिइएको छ ।

देवी देउराली र देवालयहरुमा गएर आर्शिवाद माग्ने कुरालाई ध्यान दिइएको छ । आफू भन्दा ठूलाबडाको हातबाट आशिष लिने कुरालाई महत्वसाथ राखिएको छ । बौद्ध धर्ममा पनि गौतम बुद्धको जन्मदिन वैशाख पूर्णीमालाई सबैभन्दा ठूलो चाडको रुपमा मानिने चलनबाट प्रष्ट हुन्छ कि यस धर्ममा पनि जन्मदिनको कति ठूलो महत्व रहेको छ ।

पूर्वीय सभ्यताले जन्मदिनलाई आत्मचिन्तन गर्ने, आत्मआलोचना गर्ने र दुरदृष्टि राख्ने मौकाका रुपमा उल्लेख गरिएको छ ।

तर आजकाल संहरिया जीवनशैली उपभोगवादी संस्कृति पश्चिमा सभ्यता अनि आधुनिक शिक्षा पद्धतिका प्रभावका कारण जन्मदिन मनाउने संस्कार बदलिरहेको छ ।

बर्थडे गिफ्ट, बर्थडे पार्टी, बर्थड सेलिब्रेसन जस्ता अभ्यासहरुले सहरीया जीवनमा राम्रैसँग डेरा बसाइसकेका छन् । आत्मचिन्तन गर्नु र भविष्यका योजनाहरु बनाउनु त कता हो कता जन्मदिनका अवसरमा थोत्रो आडम्बर र देखासिकिमा रमाइरहेका भेटिन्छन् । बुबा, आमा, दाजु आदिहरुबाट टीका, आर्शिवाद लिने भन्दा पनि महँगा–महँगा पार्टी प्यालेसहरुमासँगै बियर, हिस्की र रमको चुस्की लिदै नाचिरहेका भेटिन्छन् ।

अझ सबै भन्दा ठूलो विकृति त ८० वर्ष कटेका वृद्ध बुबाआमाहरुलाई पनि ह्याप्पी बर्थडे भन्दै केक काटेर गालाभरी केक दलिदिएको देखिन्छ । यसबाट वृद्ध बुबाआमाको मुहारमा प्रसन्नता भने देखिन्न ।

लेखक - Bishnu Chandra Gautam
लेखक – Bishnu Chandra Gautam

जन्मदिनमा व्यक्तिले समाज र राष्ट्रलाई योगदान दिने कुराहरु सोच्नुपर्दछ । नकी खर्च गर्ने विशेष अवसरका रुपमा जन्मदिनमा आपूm भएकोमा गौरव गर्न सक्नुपर्छ न की हिनताबोध वा पश्चाताप । प्रसिद्ध अंग्रेजी कवि विलियम वडर्सवर्थले जन्मदिनलाई प्रकतिको कृतज्ञता र जीवनको सौन्दर्यको अनुभव गर्ने अवसर हो भनेका छन् । नोवेल पुरस्कार विजेता रविन्द्रनाथ टेगोरले जीवनको नयाँ अध्याय र अनुभवहरुको सम्झना भनेर वर्णन गरेका छन् ।

जन्मदिन जीवनको मूल्याङ्कन, अनुभव र आत्मनिरीक्षण गर्ने पर्व हो । त्यसैले यसलाई हाम्रो आफ्नो मौलिक तरिकाले मनाउनु वा सम्झनु अत्युत्तम हुन्छ ।

जन्मदिनसँग सम्बन्धित कुरीति, कुथीति भए तिनीहरुलाई हटाउनुपर्छ र जन्मदिन हाम्रो प्रकृति, पुर्खा र पारिवारीक प्रचलन अनुसार मनाउनु पर्दछ । यही नै वैज्ञानिक, सामाजिक र सांस्कृतिक पनि हुन्छ ।

जन्मदिनमा आफ्नो कर्मप्रति गौरव गरौँ । पुर्खासँग अर्शिवाद मागौँ । जन्मदिन र जन्मदाता प्रति कृतज्ञता ज्ञापन गरौँ ।

(लेखक गौतम गोल्डेन सुनगाभा स्कूलका अङ्ग्रेजी शिक्षक हुन् ।)