मधेशबाट महन्थ ठाकुर र रेखा झा बने राष्ट्रिय सभा सदस्य

काठमाडौँ । केही समय अघि जनता समाजवादी पार्टी (जसपा) मा समाहित भएका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर मधेशबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका छन् ।

उनी अन्य कलस्टरतर्फ ७ हजार ७२५ मत ल्याएर राष्ट्रिय सभामा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार लक्ष्मण पौडेल १ हजार ८०५ मत पाएका छन् ।

उनी नेपाली कांग्रेस, नेकपा एमाले, जसपा र जनमत पार्टीको गठबन्धनबाट उम्मेदवार थिए । उनी प्रतिनिधि सभाका निर्वतमान सदस्य हुन् । यस्तै

मधेश प्रदेशमा राष्ट्रिय सभा सदस्यमा महिला क्लस्टरबाट नेकपा (एमाले) की उम्मेदवार रेखा झा विजयी भएकी छन् । झा ७ हजार २२२ मत भारसहित निर्वाचित भएकी हुन् । उनका प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) की शमी कुमारी अग्रवालले १ हजार ९४४ मतभार प्राप्त गरेकी छिन् ।

जनता समाजवादी पार्टीकी उम्मेदवार चन्द्रकला देवी साहले ३२२ मतमा सीमित भइन् । झालाई जिताउन एमालेसहित कांग्रेस, जसपा र जनमते मतदान गरेको छ ।