विराटनगर । राष्ट्रिय सभा सदस्यको ६ वर्षे कार्यकालका लागि कोशी प्रदेशबाट नेपाली कांग्रेसका सुनिलबहादुर थापा, एमालेका सोम पोर्तेल र रोशनी मेचे निर्वाचित भएका छन् ।
कोशी प्रदेश अन्तर्गत ३ सिटका लागि भएको निर्वाचनमा थापा निर्विरोध बने भने पोर्तेल र मेचेलाई नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का खेम सुन्दास र नमिता न्यौपानेले चुनौती दिएका थिए । तर, कांग्रेस, एमाले र जसपा नेपालको गठबन्धन भएका कारण उनीहरूको जित सुनिश्चित बन्यो ।
निर्वाचित बनेका थापा कांग्रेस नेता हुन् । उनको प्रतिस्पर्धी नेकपाका उम्मेदवार हेमराज घिमिरे उम्मेदवारी मनोनयन दर्ताका क्रममा समयमै उपस्थित हुन नआएका कारण मैदानबाट बाहिरिएका थिए । परिणाम स्वरूप थापा निर्विरोध बनेका हुन् ।
सुनिलबहादुर थापा नेपाली राजनीतिकर्मी तथा पूर्वमन्त्री हुन् । उनी नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएका थिए । उनी २०७० सालको संविधान सभा निर्वाचनमा धनकुटा जिल्ला क्षेत्र नं. २ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रत्यक्षतर्फ निर्वाचित भएका थिए ।
दलित र महिला कोटाबाट एमालेका पोर्तेल र मेचे निर्वाचित
त्यस्तै नेकपा एमालेले कोशी प्रदेशबाट दलित कोटाबाट राष्ट्रिय सभाका लागि सोम पोर्तेललाई उम्मेदवार बनाएको थियो । झापा जिल्ला समन्वय समितिको प्रमुखका रूपमा पाँच वर्षे कार्यकाल बिताएका पोर्तेल अहिले नीति निर्माणको माथिल्लो तह राष्ट्रिय सभामा पुगेका छन् ।
पाँचथरमा २०३५ फागुनमा जन्मिएका पोर्तेल हाल झापाको हल्दिवारीका स्थायी बासिन्दा हुन् । उनको राजनीतिक यात्रा २०४७ सालदेखि विद्यार्थी संगठन अनेरास्ववियुबाट सुरु भएको थियो । पार्टीको वडा कमिटीदेखि प्रदेश कमिटीसम्मका विभिन्न सांगठनिक जिम्मेवारी कुशलतापूर्वक निभाएका पोर्तेल हाल एमालेको भ्रातृ संगठन ‘मुक्ति समाज नेपाल’ को केन्द्रीय उप–महासचिव छन् ।
यता नेकपा एमालेले राष्ट्रिय सभा निर्वाचनमा उठाएको महिला कोटाको अर्को विजयी उम्मेदवार हुन् झापाकी युवा नेतृ रोशनी मेचे । अल्पसङ्ख्यक मेचे समुदायबाट प्रतिनिधित्व गर्ने रोशनीले यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयमा रहेर काम गरेकी छन् । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि ओलीले प्रधानमन्त्री पद गुमाएसँगै उनी पार्टीको गतिविधिमा सीमित थिइन् ।







