काठमाडौं । सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय सभा निर्वाचनको मतदान सुरू भएको छ ।
एमाले प्रदेश सभा सदस्य धर्मराज पाठकले पहिलो मत हालेका छन् । सुदूरपश्चिम प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर धनगढी कैलालीमा मतदान सुरु भएको हो ।
सुदूरपश्चिममा स्थानीय तहका १७३ र प्रदेश सभाका ५१ जना सांसद गरेर २२४ मतदाता छन् । यस्तै लुम्बिनी प्रदेशमा पनि राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतदान सुरु भएको छ ।
राष्ट्रिय सभा सदस्यका लागि लुम्बिनी प्रदेशबाट तीन पदका लागि ८ जनाको उम्मेदवारी परेको छ । आगामी फागुन २० गतेदेखि रिक्त हुने राष्ट्रिय सभाका १८ पदका लागि आज सातै प्रदेशमा मतदान हुन लागेको हो । मतदान दिउँसो ३ बजेसम्म चल्नेछ ।
कुल १८ पदमध्ये कोशी प्रदेशमा खस आर्यतर्फको एउटा पदमा निर्विरोध भएको र बाँकी १७ पदका लागि आज निर्वाचन हुन लागेको हो । कोशी प्रदेशका खस आर्यतर्फका उम्मेद्वार नेपाली कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएका छन् ।
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि प्रदेशसभा सदस्य, नगरप्रमुख तथा उपप्रमुख एवं गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष मतदाता रहने व्यवस्था छ ।






