आज सातै प्रदेशमा राष्ट्रियसभा सदस्य निर्वाचन, ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान

काठमाडौँ । राष्ट्रियसभामा २०८२ फागुन २० गतेदेखि रिक्त हुन लागेको १८ पदका लागि आज बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुँदैछ । निर्वाचन आयोगका अनुसार मतदानका लागि सबै तयारी पूरा भइसकेको छ ।

कुल १८ पदमध्ये कोशी प्रदेशमा खस आर्यतर्फको एक पदमा उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् भने बाँकी १७ पदका लागि आज निर्वाचन हुन लागेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

कोशी प्रदेशको खस आर्यतर्फ नेपाली कांग्रेसका उम्मेदवार सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएका हुन् । बाँकी पदका लागि सातै प्रदेशमा मतदानस्थल र मतदान केन्द्र तोकिएको छ ।

कोशी प्रदेशमा प्रदेश निर्वाचन कार्यालय परिसर विराटनगर (मोरङ), मधेस प्रदेशमा महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र जनकपुर उपमहानगरपालिका–४ (धनुषा) र बागमती प्रदेशमा भुटनदेवी माध्यमिक विद्यालय हेटौँडा उपमहानगरपालिका–४ (मकवानपुर) मा मतदान केन्द्र निर्धारण गरिएको छ ।

यस्तै, गण्डकी प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर पोखरा (कास्की), लुम्बिनी प्रदेशको कर्मचारी मिलन केन्द्र घोराही (दाङ), कर्णाली प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर वीरेन्द्रनगर (सुर्खेत) र सुदूरपश्चिम प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर धनगढी (कैलाली) मा मतदान हुने तय भएको प्रवक्ता भट्टराईले बताए ।

राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्य, नगरप्रमुख, उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष मतदाता रहने व्यवस्था छ ।