काठमाडौ । शक्तिशाली राष्ट्र फ्रान्सले १५ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोग गर्न नदिने कानुनी प्रक्रिया तीव्र बनाएको छ। राष्ट्रपति इमानुएल म्याक्रोँले सरकारले द्रुत प्रक्रियामार्फत विधेयक छिटो पारित गर्नुपर्ने बताएका छन्।
बीएफएम टेलिभिजनमा प्रसारित भिडियो सन्देशमा म्याक्रोँले यो प्रतिबन्ध आगामी शैक्षिक सत्र, सेप्टेम्बरदेखि लागू गर्ने लक्ष्य राखिएको स्पष्ट गरेका छन्।
फ्रान्सेली संसदमा यससम्बन्धी विधेयकमाथि बहस भइरहेको छ। प्रस्तावित कानुनले इन्स्टाग्राम, टिकटक र युट्युबजस्ता सामाजिक सञ्जाल १५ वर्षभन्दा कम उमेरका बालबालिकाका लागि बन्द गर्ने व्यवस्था गर्नेछ।
यससँगै विद्यालयमा विद्यार्थीलाई मोबाइल फोन प्रयोग गर्न प्रतिबन्ध लगाउने विषयमा पनि समर्थन गरिएको छ।
म्याक्रोँले सामाजिक सञ्जालमार्फत बालबालिकाको मानसिकता व्यापारिक र एल्गोरिदमको नियन्त्रणमा पर्न दिनु नहुनेमा जोड दिएका छन्।
विधेयकको मस्यौदा सोमबार संसदमा पेश हुने तयारी छ।
यसअघि अस्ट्रेलियाले १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने कानुन लागू गरिसकेको छ।


