काठमाडौँ । आबुधाबीमा त्रिपक्षीय वार्ता नसकिँदै रूसले युक्रेनको राजधानी किभ लगायतका क्षेत्रमा रूसले यो वर्षकै ठूलो हमला गरेको छ।
गएराति रूसले राजधानी लगायतका क्षेत्रमा ठूलो संख्यामा मिसाइल र ड्रोनले हमला गरेको अमरिकी टेलिभिजन नेटवर्क सिएनएनले जनाएको छ। शुक्रबार अबुधाबीमा रूस-युक्रेन-अमेरिकी अधिकारीबीच पहिलो चरणको वार्ता सकिएलगत्तै रूसले हमला सुरू गरेको हो।
वार्ता शनिबार पनि बस्ने तय भएको छ। रूसले रातभरिमा ३७० वटा ड्रोन र २१ वटा मिसाइल हानेको सिएनएनले जनाएको छ। आक्रमणमा राजधानीमा एक जनाको मृत्यु र चार जना घाइते भएको किभका मेयर विटाली क्लिस्कोले बताएका छन्।
उनका अनुसार रूसी हमलाबाट धेरै संख्यामा भवनहरुमा क्षति पुगेको छ। खसेका अवशेषका कारण आगलागी र भवनहरूमा क्षति पुगेको छ।
करिब ६ हजार अपार्टमेन्टमा ताप आपूर्ति अवरुद्ध भएको र केही क्षेत्रको पानी आपूर्ति पनि काटिएको छ। किभमा शनिबार बिहान तापक्रम माइनस १२ डिग्री सेल्सियस रहेको जनाइएको छ। चिसोमा ताप आपूर्ति नहुँदा दैनिक जीवन कठिन बनेको छ।
युक्रेनको दोस्रो ठूलो सहर खार्किभ पनि आक्रमणको चपेटामा परेको छ। त्यहाँ प्रसूति अस्पताल र विस्थापितहरूको छात्रावासमा क्षति पुगेको मेयर इहोर तेरेखोभले बताएका छन्। सो सहरमा एक बालकसहित कम्तीमा १९ जना घाइते भएका छन्।
सुमी र चेर्निहिभलगायत अन्य क्षेत्र पनि लक्षित भएका छन्। आक्रमणको मुख्य निशाना युक्रेनको ऊर्जा क्षेत्र रहेको र कडाकेको जाडोमा यो क्षेत्र अत्यन्तै संवेदनशील रहेको जेलेन्स्कीले बताएका छन्।
यी आक्रमणहरू संयुक्त अरब इमिरेट्सको अबुधाबीमा युक्रेन, रुस र अमेरिकाबीच भएको वार्ताको पहिलो दिन सकिएको लगत्तै भएका हुन्।वार्तामा रुसतर्फबाट उच्च सैन्य र गुप्तचर अधिकारीहरू, युक्रेनतर्फबाट कूटनीतिज्ञ तथा सुरक्षा अधिकारीहरू सहभागी थिए।
अमेरिकाको प्रतिनिधित्व राष्ट्रपति डोनाल्ड ट्रम्पका दूत स्टिभ विट्कोफ, उनका ज्वाइँ जारेड कुश्नर र ह्वाइट हाउसका सल्लाहकार जोश ग्रुएनबामले गरेका थिए। वार्ताको केन्द्रबिन्दु डोनबास क्षेत्र रहेको अनुमान गरिएको छ।
खनिज, उर्वर जमिन र महत्वपूर्ण नदीहरू रहेको उक्त क्षेत्रमा रुसले युक्रेनले नियन्त्रणमा राखेका भूभाग त्याग्न माग गर्दै आएको छ। यसलाई किभले निरन्तर अस्वीकार गर्दै आएको छ। ट्रम्प प्रशासनले शान्ति सम्झौताका लागि युक्रेनमाथि दबाब बढाइरहेको भए पनि त्यस्तो सम्झौताले मस्कोलाई फाइदा पुग्ने चिन्ता व्यापक छ।
पूर्णस्तरको आक्रमण सुरु गरेको करिब चार वर्षपछि पनि रुसले अन्तर्राष्ट्रिय रूपमा मान्य युक्रेनी भूभागको करिब २० प्रतिशत नियन्त्रणमा राखेको छ। यसमा लुहान्स्कको अधिकांश भाग र दोनेत्स्क, खेरसोन तथा जापोरिज्झियाका केही क्षेत्र समावेश छन्।







