काठमाडौँ । इसराइल र अरब राष्ट्रहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरानमा सैन्य हमलाको योजना स्थगित अनुरोध गरेका छन्।
इसराइलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले बुधबार ट्रम्पसँग भएको टेलिफोन वार्तामा इरानमा हमला गर्ने निर्णय नगर्न अनुरोध गरेको अमेरिकी अखबार द न्यूयोर्क टाइम्सले जनाएको छ।
त्यस्तो कदमले मध्यपूर्वमा क्षेत्रीय अस्थिरता थप बढ्न सक्ने चिन्ता व्यक्त गर्दै नेतन्याहूले सैन्य हमलाको योजना स्थगित गर्न ट्रम्पलाई अनुरोध गरेका हुन्। ट्रम्पले इरानमा प्रदर्शनकारीहरू मारिने क्रम नरोकिए त्यहाँको नेतृत्वमाथि सैन्य हमला गर्ने चेतावनी दिँदै आएका थिए।
ट्रम्पले भित्रभित्रै इरानमा हमला गर्ने विकल्पबारे आफ्ना वरिष्ठ सुरक्षा सल्लाहकार र सैन्य अधिकारीहरूसँग छलफल गरिरहेको भनेर विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले यसअघि नै सार्वजनिक गरेका थिए।
इरानमा हमला गर्ने पूर्वतयारी स्वरूप ट्रम्पले मध्यपूर्वका विभिन्न देशमा रहेका अमेरिकी सैन्य अड्डाहरूबाट कर्मचारी फिर्ता बोलाएको थियो।
कतार, साउदी अरब, ओमान र इजिप्ट लगायत अमेरिकाका प्रमुख साझेदार राष्ट्रहरूले पनि ट्रम्पलाई इरानमाथि आक्रमण गर्ने योजनाबाट पछि हट्न अनुरोध गरेका थिए।
ती देशहरूले पनि यस्तो कदमले क्षेत्रीय स्तरमा ठूलो युद्ध भड्किन सक्ने चेतावनी दिएको भनेर न्यूयोर्क टाइम्सले लेखेको छ। ती राष्ट्रहरूले एकैसाथ वाशिङ्टन र तेहरान दुवैसँग संवाद गर्दै संयम अपनाउन दबाब दिइरहेको बताइएको छ।
ट्रम्पले अत्यन्तै महत्वपूर्ण स्रोतहरू”बाट इरानले प्रदर्शनकारी हत्या रोकेको र फाँसीको प्रक्रिया अघि नबढाएको सूचना पाएको बताएका थिए।यसले इरानमाथि तत्काल सैन्य कारबाहीबाट ट्रम्प पछि हट्न सक्ने संकेत दिएको ठानिएको छ।
तर अमेरिकी अधिकारीहरूका अनुसार ट्रम्पले हालै प्रस्तुत गरिएका सबै सैन्य विकल्पहरू पूर्ण रूपमा त्यागिसकेका छैनन् र अन्तिम निर्णय इरानी सुरक्षा निकायहरूको आगामी कदममा निर्भर रहनेछ। ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले ट्रम्प र नेतन्याहूबीच संवाद भएको पुष्टि गरे पनि विवरण सार्वजनिक गरिनन्।
उनले इरानले योजनाबद्ध फाँसी स्थगित गरेको रिपोर्ट प्राप्त भएको र हिंसा जारी रहे गम्भीर परिणाम भोग्नुपर्न सन्देश इरानी शासकलाई दिइएको बताइन्।
इरानी अधिकारीहरूका अनुसार १७ दिनमा २ हजारभन्दा बढीको मृत्यु भएको जनाएको छ। अमेरिकी मानवअधिकारवादी संस्थाहरूले भने मृतकको संख्या २६ सय नाघेको दाबी गरेका छन्।
यस क्रममा १८ हजारभन्दा बढी प्रदर्शनकारी पक्राउ परेका छन्। राष्ट्रपति ट्रम्पले इरानमा प्रदर्शनकारीको समर्थनमा बारम्बार इरानमा सैन्य कारबाही गर्ने चेतावनी दिँदै आएका छन्।
उनले सुरूवातमा इरानी प्रदर्शनकारीहरूको सुरक्षार्थ अमेरिकाले हस्तक्षेप गर्ने बताएका थिए। पछि प्रदर्शनकारीमाथि गोली प्रहारको क्रम नरोकिए अमेरिकाले इरानी नेतृत्वमाथि आक्रमण गर्ने चेतावनी दिएका थिए।
मंगलबार फेरि ट्रम्पले इरानी प्रदर्शनकारीहरुको समर्थन गर्दै प्रदर्शन जारी राख्न आग्रह नै गरेका थिए।‘तपाईंहरू प्रदर्शन जारी राख्नुस्। अमेरिकाबाट सहायता आउँदैछ,’ उनले भनेका छन्। यद्यपि त्यो सहायता के हो भनेर चाहिँ उनले खुलाएका छैनन्।
परिस्थिती प्रतिकूल बन्दै गएपछि इरानका विदेशमन्त्री अब्बास अराक्ची र ट्रम्पका मध्यपूर्व हेर्ने विशेष दूत स्टिभ विटकोफबीच हुने भनिएको संवाद पनि स्थगित भएको छ। बढ्दो तनावबीच अमेरिकाले आफ्ना नागरिकहरूलाई पनि तत्काल इरान छाड्न निर्देशन दिइसकेको छ।
तेहरान हेर्ने ‘भर्चुअल’ अमेरिकी दूतावासले विज्ञप्ती जारी गरी इरानमा बढ्दो हिंसात्मक प्रदर्शनलाई लिएर आफ्ना नागरिकहरूलाई तत्काल देश छाड्न निर्देशन दिँदै मंगलबार सूचना जारी गरेको थियो।
दूतावासले इरानमा दुई साताभन्दा लामो समयदेखि जारी प्रदर्शन हिंसात्मक बन्दै गएको अवस्था र प्रदर्शनकारीमाथि त्यहाँको सरकारले गरेको दमनका बीच अमेरिकी नागरिकहरू असुरक्षित हुन सक्ने भन्दै तत्काल देश छाडेर अन्यत्र जान भनेको हो।
अमेरिकाले इरानमाथि दबाब बढाउनका लागि हालसालै इरानसँग व्यापार गर्ने देशहरूमाथि थप २५ प्रतिशत भन्सार लगाउने घोषणा गरेका थिए। यद्यपि त्यसबारे थप विवरण सार्वजनिक भएको छैन। साथै ह्वाइट हाउसले त्यसको कार्यान्वयनबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन।
पश्चिमी अधिकारीहरूले इरानमा आन्दोलनले सरकारलाई कमजोर बनाएको भए पनि जतिसुकै दबाब दिए पनि तत्काल इरानी सरकार ढल्ने नदेखिएको बताएका छन्।
त्यहाँको सुरक्षा संयन्त्र अझै सरकारकै नियन्त्रणमा रहेको इरानी सञ्चारमाध्यमले सरकारप्रति समर्थन जनाएकाले सत्ता तत्काल ढल्ने अवस्था नरहेको भनेर रोयटर्सले लेखेको छ। इरानी मिडियाहरूले सरकारको पक्षमा विशाल अन्त्येष्टि जुलुस र सभाका दृश्यहरूलाई प्राथमिकताका साथ प्रसारण गर्ने र आन्दोलनका दृश्यहरूलाई लुकाउने प्रयास गरिरहेका छन्।
इरानका राष्ट्रपति मसुद पेजेशकियानले सरकारसँग जनसमर्थन रहँदासम्म शत्रुको प्रयास असफल हुने बताएका छन्।







