काठमाडौँ । आज पराष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस ! विसं १७७९ मा जन्मिएका शाहको स्मृतिमा यो दिवस हरेक वर्ष देशभर विविध कार्यक्रमका साथ मनाइँदै आएको छ ।
आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहले राष्ट्र निर्माणमा पुर्याएको योगदानको स्मरण गर्दै आज पनि प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको पश्चिम ढोकाअगाडि रहेको उनको सालिकमा पुष्पहार अर्पण गरी सम्मान व्यक्त गरिँदैछ। पृथ्वी जयन्तीको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले चियापान समारोहको आयोजना गरेको छ। उक्त कार्यक्रममा प्रधानमन्त्री, विभिन्न राजनीतिक दलका शीर्ष नेता, पूर्वप्रधानमन्त्री तथा अन्य विशिष्ट व्यक्तित्वहरूलाई आमन्त्रण गरिएको छ।
शाहको जन्मस्थल गोरखामा समेत यो दिवस हरेक वर्ष विशेष कार्यक्रमका साथ मनाइँदै आएको छ। यसै अवसरमा नेपाली सेनाले सैनिक मुख्यालय जङ्गीअड्डा परिसरमा रहेको राष्ट्रनिर्माताको पूर्णकदको सालिकमा माल्यार्पण गरी सम्मान प्रकट गर्ने परम्परालाई यस वर्ष पनि निरन्तरता दिएको छ।
तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले विभिन्न सामाजिक, आर्थिक र भौगोलिक चुनौतीका बीच जनताको सक्रिय सहयोग र सहभागितामा छरिएर रहेका बाइसे–चौबीसे राज्यलाई एकीकृत गर्दै आधुनिक नेपालको आधार तयार गरेका थिए। विसं १८३१ मा ५२ वर्षको उमेरमा निधन भएका शाहले २० वर्षकै उमेरमा गद्दीआरोहण गरी आन्तरिक तथा बाह्य शक्तिलाई पराजित गर्दै एकीकरण अभियान अगाडि बढाएका थिए।
पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसले साझा इतिहास, संस्कृति र गौरवको स्मरण गराउँदै विविधताबीचको एकतालाई थप सुदृढ बनाउने प्रेरणा दिन्छ। साथै, व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्रहितलाई प्राथमिकता दिनुपर्ने सन्देश दिँदै सशक्त र समावेशी राष्ट्र निर्माणका लागि पुर्खाहरूले गरेको योगदानको सम्मान गर्ने अवसरका रूपमा यो दिवसलाई लिइन्छ।
यस अवसरमा उपराष्ट्रपति, सभामुख, विभिन्न राजनीतिक दलका नेता तथा राष्ट्रका विशिष्ट व्यक्तित्वहरूले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको शुभकामना सन्देश दिएका छन्।







