काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले कम्युनिस्ट घटकलाई एकीकृत गर्न अग्रसर रहेको बताएका छन् ।
बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै प्रचण्डले यस्तो बताएका हुन् । उनले राष्ट्रिय एकता, स्वाधीनता र आर्थिक समृद्धि सुदृढ गर्न बृहत् राष्ट्रिय एकताको आवश्यकता रहेको बताए ।
सोही आवश्यकताको आधारमा विभिन्न १७ वटा साना–ठूला कम्युनिस्ट घटकलाई समेटेर नेकपा बनाइएको उनको जिकिर छ । उनले पछिल्लो समय सबै प्रदेश, जिल्ला र पालिकामा युवापुस्ताको आकर्षण नेकपातर्फ बढ्दै गएको दाबी पनि गरे ।
जेनजी युवाहरूले आफ्ना विचार र भावनालाई सही ढंगले प्रतिनिधित्व गर्ने पार्टी नेकपा नै भएको भनि बुझ्न थालेको उनको भनाइ छ ।
‘यो राष्ट्रको एकतालाई र स्वाधीनतालाई सुदृढ गर्ने ऐतिहासिक जिम्मेवारी हाम्रो काँधमा छ । देशलाई आर्थिक रूपमा समृद्ध बनाउने जिम्मेवारी पनि हाम्रो काँधमा छ । त्यो एक्लैदुक्लै गरेर सकिने कुरा होइन त्यसको लागि एउटा बृहत् राष्ट्रिय एकताको आवश्यकता पर्छ । त्यही उद्देश्य बोकेर नै हामीले विभिन्न १७ वटा सानाठूला कम्युनिस्ट घटकहरूलाई मिलाएर नेपाली कम्युनिस्ट पार्टी स्थापना गरेर हामी अगाडि बढ्दैछौं,’ उनले भने ।
यो प्रक्रियासँगै सबै प्रदेश, जिल्ला र पालिकामा पनि युवाहरू नेकपामा केन्द्रित हुने अवस्था बढ्दै गएको उनको दाबी छ ।







