
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता हरिबाेल गजुरेलले जेनजी आन्दोलनकाे मर्म र भावना अनुसारकाे पार्टी संगठन निर्माण गर्न नव युवाहरुलाई नेतृत्वको अग्रपंक्तिमा ल्याउनुपर्ने बताएका छन् ।
उनले जेनजी आन्दोलनको मर्म र भावनाको औपचारिक समर्थन मात्र पर्याप्त नभएको भन्दै यसको मर्मलाई व्यवहारमा उतार्नु नै वर्तमानको आवश्यकता भएको बताए ।
संविधान निर्माणपछिका चरणमा राजकीय जिम्मेवारीमा रहेकाहरूका काम, कारबाहीप्रति जेनजीले उठाएका प्रश्नलाई गम्भीरतापूर्वक आत्मसात गर्नुपर्ने नेता गजुरेलको भनाइ छ । ‘संस्थागत समीक्षा, आत्मालोचना र व्यवहारगत रूपान्तरणसहित नेतृत्वको मूल टिम यो पुस्तासँग अन्तरघुलन गर्दै अगाडि बढ्नु आजको अपरिहार्य आवश्यकता हो।’ उनले भने ।
त्यागका शाब्दिक नारा र स्वघाेषणाले नभइ नीतिगत र विधिगत निर्णयले मात्र पार्टी पंक्ति र समाजलाई निर्देशित गर्न सक्ने उनको अभिमत छ । यहीँ अग्निपरीक्षामा खरो उत्रिने पार्टी र नेतृत्व मात्र जेनजी पुस्ताको वास्तविक अभिभावक ठहरिने गजुरेलले बताएका छन् ।
‘चाकरी, चापलुसी र अनावश्यक सत्तासंघर्ष मुक्त, रचनात्मक सोच, संघर्षशीलता र ऊर्जाशीलताले भरिएका नवयुवालाई नेतृत्व र प्रतिनिधित्वको अग्रपंक्तिमा ल्याउने संकल्प गरौँ ।’ उनले भने ।
नेता गजुरेलले आगामी संघीय निर्वाचनमा अपवादबाहेक “संक्रमणकालीन विशेष नीति” अनुसार पूर्व प्रधानमन्त्री, मन्त्री तथा सांसदहरू प्रत्यक्ष वा समानुपातिक उम्मेदवार नहुने निर्णय गर्नुपर्नेमा जाेड दिए । साे निर्णय नै उपयुक्त र सम्मानजनक हुने उनको भनाइ छ ।
पुराना नेताहरूकाे भूमिका वैचारिक निरन्तरता कायम राख्ने, संगठनात्मक अनुभव सम्प्रेषण गर्ने र संस्थागत स्मृतिको संरक्षणमा केन्द्रित हुनुपर्ने उनले बताए । त्यस्तै, संघीय संसदका उम्मेदवारका रूपमा नयाँ अनुहार, नयाँ सोच र नयाँ क्षमताको चयन अनिवार्य भएको नेता गजुरेलले बताए ।
‘परम्परागत अभ्यासको अन्त्य गर्दै, समानुपातिक प्रणालीमार्फत पार्टीभित्र र बाहिरका योग्य, प्रतिबद्ध र जनसरोकारसँग गाँसिएका क्षमताको केन्द्रित चयन आजको माग हो।’ उनले भने ।

