डान्सबार, मसाज तथा स्पा सेन्टरमा प्रहरीको एक्सन

काठमाडाैं । प्रहरीले काठमाडाैंका विभिन्न डान्सबार, मसाज तथा स्पा सेन्टरमा छापा मारेर पाँच जना पक्राउ गरेकाे छ ।

काठमाडौं उपत्यकामा रहेका विभिन्न डान्सबार, क्लब, खाजाघर, स्पा सेन्टर तथा गेस्टहाउसलगायत दोहोरी सेन्टरहरूमा नाबालिकालाई आर्थिक लाभ लिई यौनशोषण र वेश्यावृत्तिमा लगाउने कार्य भइरहेको भन्ने सूचनाका आधारमा मानव बेचबिखन ब्युरोबाट खटिएको प्रहरीले छापा हानेकाे हाे ।

प्रहरीले काठमाडौं ठमेलस्थित गोल्डेन स्पा, चाबहिलस्थित फायर लाउन्ज एन्ड क्लब, बौद्धस्थित लक्की स्पा, मित्रनगरस्थित सुदूरपश्चिम खाजाघर र खप्तड सुदूरपश्चिम गेस्टहाउमा छापा मारेकाे हाे ।

त्यस क्रममा प्रहरीले स्पा र होटलबाट आठ बालिकाको उद्धार गरेको छ भने पाँच जना पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा काठमाडौं बूढानीलकण्ठ नगरपालिका– १३ बस्ने ३२ वर्षीय हेमन्त श्रेष्ठ, सिन्धुली दुधौली नगरपालिका– १२ की ४० वर्षीया गीताकुमारी आचार्य, सल्यान कुमाख गाउँपालिका– ४ का ४५ वर्षीय गोविन्द बुढाथोकी, बझाङ छबिसपाथीभेरा गाउँपालिका–१ का ४२ वर्षीय हरिभक्त गिरी र कैलाली गौरीगङ्गा नगरपालिका–६ का ४९ वर्षीय भीमबहादुर साउद छन् ।

नाबालिकाहरूलाई जबर्जस्ती वेश्यावृत्तिमा लगाउने कार्य गरेको पाइएपछि पक्राउ गरेको ब्यूराेले जनाएकाे छ । सोही क्रममा ती होटल र स्पाबाट आठ बालिकाको उद्धार गरिएको ब्युरोले जनाएकाे छ ।