सुर्खेत । नेपाली कम्युनिस्ट पार्टीका नेता वामदेव गौतमले मुलुकमा समाजवाद निर्माण गर्न नसके आफूहरूलाई जेल हाल्न जनतालाई खुला चुनौती दिएका छन्।
शनिबार सुर्खेतमा आयोजित नेकपाको एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले समाजवाद कार्यान्वयनमा नेतृत्व चुके जनताले सजाय दिनुपर्ने धारणा व्यक्त गरे।
भाषणका क्रममा आक्रामक रूपमा प्रस्तुत भएका गौतमले अब नेताहरूलाई जिम्मेवारीबाट भाग्ने कुनै छुट नभएको स्पष्ट पारे। ‘हामीले समाजवाद निर्माण गर्न सकेनौँ भने तपाईंहरूले हामीलाई जेलमा लगेर कोचिदिनुहोला,’ उनले भने, ‘अब हामीलाई भाग्ने छुट छैन।’
विगतमा भएका कमजोरीहरू स्वीकार गर्दै उनले नेतृत्वलाई जनतालाई भ्रममा नपार्न चेतावनी दिए। ‘जनतालाई ढाँट्नका लागि मात्र “समाजवाद, समाजवाद” भन्ने समय सकियो,’ उनले भने, ‘अब ढिला नगरी समाजवाद निर्माणतर्फ लाग्नुपर्छ र देशलाई समृद्ध बनाउनु पर्छ।’
सम्बोधनका क्रममा नेता गौतमले पछिल्लो समय चर्चामा रहेको युवाहरूको ‘जेन–जी’ आन्दोलन वर्तमान राजनीतिक कार्यशैलीकै परिणाम भएको टिप्पणी गरे। उनले विशेषगरी केपी शर्मा ओलीको कार्यशैलीका कारण युवाहरू असन्तुष्ट बनेको दाबी गरे।
नेतृत्वको शैलीप्रति असन्तुष्टि जनाउँदै गौतमले संविधानको मर्म र भावनाअनुसार अघि बढ्न सुझाव दिए। नेपाली कम्युनिस्ट आन्दोलन देशको सबैभन्दा ठूलो राजनीतिक शक्ति भएको उल्लेख गर्दै उनले अबको बाटो समृद्ध समाजवादको विकास हुनुपर्नेमा जोड दिए।







