काठमाडौं । सहकारी ठगी प्रकरणमा जेलमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको मुद्दा बिहीबारका लागि हेर्न नमिल्नेमा परेको छ।
लामिछाने र उनका साझेदार गोर्खा मिडिया नेट्वर्कका तत्कालीन सञ्चालक एवम् पूर्वडीआईजी छविलाल जोशीको मुद्दा बिहीबारका लागि ‘हेर्न नमिल्नेमा’ परेको हो ।
उच्च अदालत तुलसीपुरको, बुटवल इजलासका न्यायाधीशद्वय तेजनारायण पौडेल र सागर विष्टको इजलासमा यो मुद्दाको पेशी तोकिएको थियो । तर न्यायाधीश विष्टका आफन्त जाहेरवाला कानुन व्यवसायी परेका कारण मुद्दाको सुनुवाइ स्थगित गरिएको हो ।
रवि र छवि बुटवलस्थित सुप्रिम सहकारी संस्थाको रकम ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा रहेका छन् । दुवैजनाले बिगो बराबरको धरौटी राखेर थुनामुक्त हुन माग गर्दै निवेदन दिइसकेका छन् । लामिछाने र जोशीको मुद्दाको पेशी गत कात्तिक १३ गतेपछि निरन्तर सरिरहेको छ ।
मुद्दाको छिनोफानो हुने अवस्था आइरहँदा पछिल्लो समय रास्वपा सभापति लामिछानेले नख्खु जेलबाटै मिडिया ट्रायल गरिरहेका छन् । उनलाई भेटन् नेतादेखि पूर्वन्यायाधीशसम्म पुगिरहेका छन् ।







