फाइनलका लागि आज पुन: आमनेसामने हुँदै सुदूरपश्चिम र विराटनगर

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको पहिलो क्वालिफायर आज मंगलबार सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्सबिच कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय मैदानमा हुँदैछ ।

खेल अपराह्न ४ बजे सुरु हुनेछ । विजेता टोली सोझै मङ्सिर २७ गते हुने फाइनलमा प्रवेश गर्नेछ भने पराजित टोलीले दोस्रो क्वालिफायरमार्फत पुनः फाइनल पुग्ने अवसर पाउनेछ। दोस्रो क्वालिफायर काठमाडौँ गुर्खाज र लुम्बिनी लायन्सबीच हुने एलिमिनेटरका विजेतासँग खेलिनेछ ।

सुदूरपश्चिम रोयल्सले यो सिजन उत्कृष्ट प्रदर्शन गर्दै ७ खेलमध्ये ६ मा जित हात पार्दै १२ अंकसहित शीर्ष स्थानमा रहेर क्वालिफायर पुगेको हो । लगातार ६ खेलमा अपराजित रहेको टोली अन्तिम खेलमा भने विराटनगरसँग ६ विकेटले पराजित भएको थियो ।

गत सिजन पनि शीर्ष स्थानमा रहेर फाइनल पुगेको सुदूरपश्चिम यस पटक पनि बलियो दाबेदारका रूपमा उभिएको छ । त्यस्तै गत सिजन छैटौँ स्थानमा सीमित बनेको विराटनगर किङ्सले यो सिजन उल्लेखनीय सुधार देखाएको छ । ७ खेलमध्ये ५ जित निकाल्दै १० अंकसहित टोली दोस्रो स्थानमा रह्यो ।