भक्तपुर । अन्तरविद्यालय लोक नृत्य तथा एकल नृत्य प्रतियोगितामा सूर्यविनायक–५ स्थित यूनिटी स्कूलले दुवै विधामा प्रथम स्थान हासिल गरेको छ। इडिफाइ प्राइभेट स्कूल अर्गनाइजेसन नेपाल (ईप्सन)को आयोजनामा बिमल मेमोरियल विद्यापीठमा सम्पन्न कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरूले आकर्षक प्रस्तुति दिएका थिए।
सामूहिक लोक नृत्यतर्फ यूनिटी स्कूलले प्रथम स्थान प्राप्त गर्दा ईडेन गार्डेन स्कूल दोस्रो, सूर्योदय स्कूल तेस्रो र ग्लोबल एकेडेमीले सान्त्वना स्थान हात पारे।
त्यसैगरी, एकल नृत्यतर्फ यूनिटी इङ्ग्लिस स्कूलकी दिपशिखा खड्काले प्रथम स्थान हासिल गरिन्। क्वालिटी इङ्ग्लिस स्कूलकी मनिरा तामाङ दोस्रो, ईडेन गार्डेन स्कूलकी कृष्टिना श्रेष्ठ तेस्रो र पारिजात विद्याकुन्जकी ज्योती खड्काले सान्त्वना स्थान प्राप्त गर्न सफल भए।
कार्यक्रमका सभापति तथा बिमल मेमोरियलका प्रधानाध्यापक कुमार थापा मगरले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सबै विद्यालय र निर्णायकहरूलाई धन्यवाद दिएका थिए। प्रमुख अतिथि सूर्यविनायक नगरपालिका–१० का वडाध्यक्ष शिवराम राउतले विजेताहरूलाई बधाई दिँदै यस्ता प्रतियोगिताले विद्यार्थीहरूमा नेपाली लोकसंस्कृतिप्रति अभिरुचि र जगेर्ना बढाउने विश्वास व्यक्त गरे।
ईप्सन अध्यक्ष तथा क्वालिटी इङ्ग्लिस स्कूलका प्रिन्सिपल जी.बी. खड्काले आयोजक विद्यालयलाई धन्यवाद दिँदै आगामी दिनमा पनि यस्ता कार्यक्रम निरन्तर आयोजना गरिने बताएका छन्।







