माओवादी केन्द्रसंग एकता गर्ने एकीकृत समाजवादीको सर्वसम्मत निर्णय

madhav-jhalnath-bamdev
madhav-jhalnath-bamdev

काठमाडौं । नेकपा एकीकृत (समाजवादी)ले नेकपा (माओवादी केन्द्र)सँग पार्टी एकता गर्ने ऐतिहासिक निर्णय गरेको छ। शुक्रबार बसेको पार्टीको केन्द्रीय कमिटी बैठकले अध्यक्ष माधवकुमार नेपालको प्रस्तावलाई सर्वसम्मत पारित गर्दै पार्टी एकता प्रक्रियालाई अघि बढाउने निर्णय गरेको हो।

बैठकपछि उपाध्यक्ष प्रकाश ज्वालाले सञ्चारकर्मीसँग कुरा गर्दै बैठकमा अध्यक्ष नेपालको एकता प्रस्तावमाथि व्यापक छलफल भएको र अन्ततः सर्वसम्मत रूपमा अनुमोदन गरिएको जानकारी दिए।

 “अध्यक्षज्यूले प्रस्तुत गर्नुभएको प्रस्तावमाथि सम्पूर्ण सदस्यहरूले समर्थन जनाएका छन् ।” उनले भने । तर, सो पार्टीका सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले यस विषयमा फरक मत राखेको पनि उनले खुलासा गरे । खनालको फरक मतका बाबजुद सर्वसम्मत निर्णय भएको उपाध्यक्ष प्रकाश ज्वालाले प्रष्ट पारे ।

नेकपा एकीकृत (समाजवादी) तत्कालीन नेकपा (एमाले) बाट अलग भएर गठन भएको दल हो। बाम एकतासंगै बनेको नेकपामा बिभाजन आएपछि नेकपा एमाले र नेकपा माओवादी केन्द्र पुनः अस्तित्वमा आए । सोही बेलामा वरिष्ठ नेता माधव नेपालले एमालेभित्र असन्तुष्ट रहेकालाई नेतृत्व गर्दै नयाँ दल गठन गरेका थिए ।

हाल वामपन्थी शक्ति बिखण्डित भएको र जेनजी आन्दोलनपछि देशलाई एकतावद्ध भै नेतृत्व दिनुपर्ने आवश्यकता बोधले एकीकृत समाजवादी र माओवादी केन्द्रबीच एकता अघि बढेको बताइएको छ  ।