दुई मोटरसाइकल ठोक्किँदा दुबै चालकले गुमाए ज्यान

अर्घाखाँचीमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा भएको दुर्घटनामा परी दुईजनाको ज्यान गएको छ।

बुधबार राति छत्रदेव गाउँपालिका–१ सौरेखोलामा लु ५८ प ७९७८ र लु ३३ प ६५४४ नम्बरका मोटरसाइकल विपरीत दिशाबाट आइ ठोक्किँदा दुबै सवारीका चालकको ज्यान गएको प्रहरीले जनाएको छ ।

ज्यान गुमाउनेमा अर्घाखाँची पाणिनी गाउँपालिका–५ का २१ वर्षीय तारा बेलबासे र गुल्मी छत्रकोट गाउँपालिका–६ का ३५ वर्षीय सुमन सुनार रहेका छन्।

उनीहरूलाई प्रहरी र स्थानीयले उद्धार गरी जिल्ला अस्पताल सन्धीखर्क पुर्‍याए पनि उपचारका क्रममा राति पौने ११ बजे निधन भएको प्रहरीको भनाइ छ ।

मोटरसाइकल पछाडि सवार रहेका घाइतेहरु अर्घाखाँची पाणिनीकी १८ वर्षीया दीपा कोइराला र गुल्मी छत्रकोटका ४४ वर्षीय सुरज सुनारको अवस्था गम्भीर छ। उनीहरूलाई थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल र लुम्बिनी सिटी अस्पताल रेफर गरिएको बताइएको छ।