अझै अस्पतालको शैयामा ३० आन्दोलनकारी

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो विवरणले ‘जेन–जी आन्दोलन’ले देशभर गम्भीर मानवीय असर पारेको स्पष्ट गरेको छ। हालसम्म अस्पताल पुगेका ४९ जनाको ज्यान गइसकेको छ भने ३० जना अझै विभिन्न अस्पतालमा उपचाररत रहेका छन्।

मन्त्रालयका अनुसार, काठमाडौंका सिभिल अस्पतालमा एक, राष्ट्रिय ट्रमा सेन्टरमा १०, काठमाडौं मेडिकल कलेजमा तीन, त्रिवि शिक्षण अस्पतालमा पाँच, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तीन, नेपाल प्रहरी अस्पतालमा एक र कीर्तिपुर अस्पतालमा एक जना घाइतेको उपचार भइरहेको छ।

त्यस्तै, राजधानीबाहिरका स्वास्थ्य संस्थामध्ये बी एण्ड बी अस्पतालमा तीन, विराट मेडिकल कलेजमा एक, नोबेल मेडिकल कलेजमा एक र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक जना उपचारमा रहेका छन्।

मन्त्रालयले देशभरका स्वास्थ्य संस्था र प्रादेशिक आपत्कालीन कार्यसञ्चालन केन्द्रहरूसँगको प्रत्यक्ष समन्वयपछि यो विवरण सार्वजनिक गरेको हो।

पछिल्लो अभिलेखअनुसार, आन्दोलन सुरु भएदेखि अहिलेसम्म २,३१६ जना घाइते उपचारका लागि अस्पताल पुगेका छन्। तीमध्ये २,२३८ जना डिस्चार्ज भइसकेका छन् भने बाँकी घाइतेहरू उपचाररत छन्।

मन्त्रालयले असोज १२ गतेदेखि क्लिनिकमार्फत सेवा लिएका नौ जना घाइतेको पनि तथ्यांक समावेश गरेको छ।

साथै, नागरिकलाई सुरक्षित रहन, भीडभाडमा सावधानी अपनाउन र आवश्यक परे नजिकको स्वास्थ्य संस्था वा क्लिनिकमा तुरुन्त सम्पर्क गर्न आग्रह गरेको छ।