नेप्सेमा कर्मचारीको आन्दोलन

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का कर्मचारीहरूले प्रमुख कार्यकारी अधिकृत (सीईओ) र सञ्चालक समितिका अध्यक्षको राजीनामा माग्दै आन्दोलन थालेका छन्। मंगलबारदेखि सुरु भएको आन्दोलन अझ तीव्र बनेको छ।

कर्मचारी संघले बुधबार विज्ञप्ति जारी गर्दै सीईओ चुडामणी चापागाई र अध्यक्ष हेमन्त बस्यालको राजीनामा माग गरेको छ। कर्मचारीहरूले हातमा कालो पट्टी बाँधेर काम गर्ने, सीईओको कार्यकक्षमा तालाबन्दी गर्नेजस्ता कार्यक्रम सुरु गरिसकेका छन्। संघले राजीनामा नभएसम्म विरोध जारी राख्ने चेतावनी दिएको छ।

कर्मचारीहरूले आफूले पाउनु पर्ने ५ प्रतिशत बोनस नदिएको भन्दै मंगलबार अध्यक्ष बस्याल र सीईओ चापागाईलाई करिब १३ घन्टा कार्यालयमै रोकिदिएका थिए। मध्यराति प्रहरीले उनीहरूलाई सुरक्षित घर पठाएको थियो।

नेप्से सञ्चालक समितिले भने अर्थ मन्त्रालयको स्वीकृति बिना बोनस दिन नसक्ने अडान लिएको छ। तर कर्मचारी संघले श्रम अदालतको आदेशअनुसार बोनस दिनैपर्ने बताउँदै अध्यक्ष बस्यालमाथि स्वार्थ बाझिएको आरोप पनि लगाएको छ।