भक्तपुर । दशै, तिहार, नेपाल सम्वत् र छठ पर्वको अवसरमा वातावरण संरक्षण मञ्चले विशेष कार्यक्रम सम्पन्न गरेको छ । सो अवसरमा “स्वच्छ वातावरण” नामक वार्षिक पत्रिका समेत विमोचन गरियो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख ईश्वर बहादुर थापाले वातावरणीय समस्या समाधानका लागि संविधानअनुकूल विभिन्न संघसंस्थासँग सहकार्य गर्दै अघि बढ्नुपर्ने सुझाव दिए।
डा. सम्पूर्ण कक्षपतिले जनसंख्या वृद्धिका कारण उत्पन्न प्रदूषणले रोग बढाइरहेको उल्लेख गर्दै यस्ता समस्या समाधानका लागि गहिरो अध्ययन र अनुसन्धान आवश्यक भएको बताए।
मञ्चका अध्यक्ष न्हुछे बहादुर प्रजापतिले वातावरणको स्वच्छता कायम राख्नका लागि संघसंस्थाबीच सहकार्यको खाँचो रहेको बताउँदै, आफैंबाट उत्पन्न समस्यालाई आफैंले समाधान गर्ने चेतना फैलिनुपर्नेमा जोड दिए।
भक्तपुर उद्योग वाणिज्य संघकि अध्यक्ष रोशनी मैयाँ धौबन्जारले संस्कृतिसहितको जीवनलाई जीवन्त बनाउन वातावरण संरक्षण अपरिहार्य भएको भन्दै, यस्ता संस्थाहरू भूमिगत रूपमा मात्र सीमित रहनु विडम्बना भएको टिप्पणी गरे।
नेप्से म्याककी प्रतिनिधि तथा वातावरण विज्ञ प्रतिभा कसपालले विश्वमै दुर्लभ ८ प्रजातिका सालकमध्ये २ प्रजाति नेपालमा रहेको जानकारी दिँदै, ती महाभारत पर्वतको सामुदायिक वन व्यवस्थापनमा सञ्चालन भएको वनक्षेत्र र तराईका घना जङ्गलमा पाइने तथ्य प्रस्तुत गरिन्।
सामूहिक रूपमा सम्पन्न पत्रिका विमोचन कार्यक्रममा विराट नेपाल भाषा साहित्य समाजका अध्यक्ष महेन्द्रगोपाल कर्माचार्य, मञ्चका महासचिव मणिराम लामिछाने, कोषाध्यक्ष सहना पसखललगायतले मन्तव्य राखे।







