आज गाईजात्रा मनाइँदै

काठमाडौं । आज नेपालभर गाईजात्रा पर्व मनाइँदैछ। विशेषगरी काठमाडौं उपत्यकामा यो दिन सार्वजनिक बिदा दिइएको छ।

गाईजात्राको परम्परा विक्रम संवत् १६४१–१६६४ मा राजा प्रताप मल्लका पालादेखि सुरु भएको मानिन्छ।

ऐतिहासिक तथ्य अनुसार तत्कालीन राजा प्रताप मल्लले आफ्नो नाबालक छोरा गुमाएपछि महारानी गहिरो शोकमा डुब्दै गइन्।

महारानीलाई सान्त्वना दिनका लागि उनले उपत्यकाका प्रजाहरूलाई मान्छे मरेको घरबाट हनुमानढोका दरबार परिसरमा गाई निकाल्न उर्दी गरे । गाईसहित शोक प्रदर्शन गरिएको यो नौलो जात्राले काठमाडौं दरबार स्क्वाएरमा उपस्थित सबैको ध्यान खिच्यो, र त्यसयता यो परम्पराको रुपमा निरन्तर रूपमा चल्दै आएको इतिहासविदहरु बताउँछन्।

गाईजात्रा मृतकको आत्माको शान्ति र मोक्षका लागि मनाइने पर्व हो। जनविश्वासअनुसार, यस दिन यमराज अर्थात् मृत्युका देवताको पूजा–अर्चना गरे मृत आत्माले मुक्ति पाउँछन्।

जात्रामा गाईलाई अघि लगाइन्छ, गाई नभए कुमार केटोलाई गाईझैँ सिँगारी अघि लगाइन्छ। सहभागीहरूले रङ्गीचङ्गी पोसाक, विभिन्न मुखुण्डो, बाजागाजाका साथ ध्वजा–पताका र बितेका आफन्तजनका तस्वीरसहित जात्रा निकाल्छन्।

काठमाडौं उपत्यकाको तीनै शहरको प्रमुख सांस्कृतिक पर्व मानिने गाईजात्रा अन्य शहरहरूमा पनि भव्य रूपमा मनाइन्छ। यस दिन हास्य–व्यङ्ग्यका कार्यक्रम, नाचगान, र विविध सांस्कृतिक प्रस्तुतीहरू प्रस्तुत गर्ने परम्परा छ, जसले समाजका त्रुटि र विकृतिहरूलाई हाँसोको माध्यमबाट आलोचना गर्ने सांस्कृतिक चेतनालाई पनि अघि बढाएको छ ।