आज प्रतिनिधिसभाको बैठक बस्ने, यस्तो छ कार्यतालिका

काठमाडौ । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज संघीय संसद भवन, नयाँ बानेश्वरमा बस्दैछ।

बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्र र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट आएको कार्यभार थपसम्बन्धी पत्र पढेर सुनाउने कार्यक्रम रहेको छ।

त्यस्तै, संघीय संसद्का महासचिवले “संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन विधेयक, २०७९” मा राष्ट्रपति कार्यालयबाट प्राप्त सन्देशको जानकारी गराउनेछन्। साथै, सार्वजनिक लेखा समितिको २३ औँ वार्षिक प्रतिवेदन, २०८२ अन्तर्गत उल्लेखित आर्थिक गतिविधि तथा वित्तीय उत्तरदायित्व ऐन स्वीकृतिका लागि प्रस्ताव पेश गरिनेछ।

युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले “राष्ट्रिय खेलकुद विकास (पहिलो संशोधन) विधेयक, २०८२” माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्नेछन्। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले “विश्व व्यापार संगठनको मत्स्य उद्योगमा सहुलियतसम्बन्धी सम्झौताको प्रावधान” माथि सदनमा छलफल र अनुमोदन गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ।