काठमाडौं, १७ साउन । साहित्यिक पत्रकार संघले आज संगीत साधक परशुरामभक्त माथेमाद्वारा २००३ सालमा लिखित पुस्तक “संगीत प्रवेशिका” माथि परिचर्चा कार्यक्रमको आयोजना गर्यो। कार्यक्रम जेभिएर एकाडमी, लाजिम्पाटमा सम्पन्न भयो।
कार्यक्रममा संघले चर्चित युवा संगीतकार राजु सिंहलाई पहिलोपटक प्रदान गरिएको “परशु-चन्द्र संगीत सम्मान” बाट सम्मानित गर्यो। सम्मान पूर्वराजदूत केदारभक्त माथेमाले प्रदान गरेका थिए।
साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ संगीतकार प्रदीप बमजन र संगीता राणा प्रधानले “संगीत प्रवेशिका” पुस्तकबारे धारणा प्रस्तुत गरे। प्रमुख अतिथि माथेमाले परशुरामभक्त माथेमाको जीवन र संगीत साधनामा आधारित योगदानको चर्चा गरे।
कार्यक्रममा हरिश कल्पितले सम्मानित सर्जक राजु सिंहको परिचय प्रस्तुत गरे। शिक्षक नारायणप्रसाद खनालले माथेमाले माताको स्मृतिमा रचना गरेको “श्रद्धाञ्जली” शीर्षकको छन्द कविता वाचन गरे। शिक्षाविद् डा. श्रीरामभक्त माथेमाले स्वागत मन्तव्य राखे।
वरिष्ठ आख्यानकार पद्यमावती सिंहले कार्यक्रमको सञ्चालन गरे। गायक मथुरा श्रेष्ठ, प्रजाभक्त श्रेष्ठ, अन्ना श्रेष्ठ, सुनन्दा माथेमा र डिसु भण्डारीले सांगीतिक प्रस्तुति दिएका थिए। कार्यक्रममा साहित्यकार, संगीतकर्मी, पत्रकारलगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।







